images
images
  • अगाडि निजी, पछाडि राज्य

    –दीपकराज जोशी

    पर्यटन व्यवसायमा निजी क्षेत्र प्रत्यक्ष रूपमा लागेको ६५ वर्षभन्दा बढी भइसकेको छ । यो बिचमा राज्यको अग्रसरता र उत्सुकताभन्दा निजी क्षेत्रको संलग्नता बढी देखिएको छ । लामो समयसम्म पर्यटन भनेकै विदेशी मात्र हुन् भन्ने दृष्टिकोण रहेको नेपालको पर्यटन क्षेत्रमा पछिल्लो कालखण्डमा भने आन्तरिक पर्यटन पनि उदीयमान विधा भएको छ ।

    नेपालमा विदेशी पर्यटकको आकर्षण बढ्दै जानुमा विभिन्न अन्तर्राष्ट्रिय व्यक्तित्वहरुको नेपाल भ्रमण एक प्रभावकारी माध्यम बनेको देखिन्छ । ती पर्यटकले पुस्तकमार्फत, स्टोरी, विभिन्न प्रकारका रेकर्डबाट नै नेपाललाई चिनाए अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालप्रतिको आकर्षण बढेको छ ।

    निजीले धानेकये पर्यटन

    पर्यटकहरू आउन थालेपछि हामीले पनि निजी क्षेत्रसहितबाट सेवा दिन थालेका छौं । अहिलेको अवस्थामा पर्यटनको विभिन्न कम्पोनेन्टमार्फत प्रवद्र्धन भइरहेको छ । पर्यटक आइसकेपछि उनीहरूलाई सेवा दिने काम अर्को महत्वपूर्ण काम हो । हामीले पर्यटकलाई सेवा दिने काम होटल, होमस्टे, ट्रेकिङ, ट्राभलसहितबाट गरिरहेकै छौं । सरकारले पर्यटन विकास र प्रवद्र्धनकै लागि विभिन्न निकाय गठन गरेका पनि छ । पर्यटन बोर्ड, विभिन्न पर्यटनका विंडसहरू र तारागाउँ पर्यटन विकास समितिसहितबाट पनि सेवा प्रवाह भएको पाइन्छ ।

    पर्यटकलाई आकर्षित गर्ने र सेवा प्रभावकारी दिने भनेर राज्यले नै सुरु गरेका निकायबाट भने सुरुवाती वर्षहरूमा काम गर्न खाजेको जस्तो देखिए पनि आजका दिनमा ती निकाय खासै प्रभावकारी हुन सकेका छैनन् । निजी क्षेत्रको दबाब होस् वा सरकारी संयन्त्रले काम अब्बल हुन नसक्दा होस् । आखिरीमा सरकारले पर्यटकीय सेवा र सुविधाका लागि सुरुवात भएका सरकारी निकाय कमजोर हुँदाको घाटा समग्र पर्यटन क्षेत्रलाई भइरहेको छ ।

    पछिल्लो समय पर्यटन क्षेत्रमा काम गर्ने संस्थागत हिसावले हेर्ने हो भने निजी क्षेत्रको सक्रियता बढ्दै गएको देखिन्छ । ट्रेकिङ, ट्राभल, एयरलाइन्स, होटल, पर्वतारोहणसहितका संस्थाहरूको योगदान उल्लेख्य देखिन्छ । ती संस्थासँग सरकारी निकायको उपस्थिति जोडेर हेर्ने हो भने निजी क्षेत्र अलि बढी आक्रामक छ भने सरकारी प्रक्रिया सुस्त देखिन्छ ।

    उदार नीतिको प्रतिफल

    नेपालमा सन् १९७० को दशकपछि पर्यटनको महत्व देखेर सरकारले नै सहजीकरण गर्न थालेको र पर्यटन मन्त्रालय स्थापना गरेर सन् १९७२ मा पर्यटनको गुरु योजनासमेत बनेको देखिन्छ । सरकारले पर्यटनमा दक्ष जनशक्ति उत्पादन गर्ने भनेर नेपाल पर्यटन तथा होटल व्यवस्थापनप्रतिष्ठान (नाथम) को सुरुवात गर्नेदेखि पर्यटन विभाग स्थापना गरेर नियमनको भूमिका खेल्न थालेसम्मको अवस्थालाई अहिले जोडेर हेर्ने हो भने राज्यले सक्रियता देखाउन खोजको मात्रै देखिन्छ ।

    पूर्वाधार विकासमा पनि सरकारले निजी क्षेत्रमैत्री र खुला अर्थतन्त्रको नीति लिएर हवाई यातायात, पर्यटन यातायातसहित विभिन्न क्षेत्रमा निजी क्षेत्रको लगानी खुला गरिदिएको छ । यसले निजी क्षेत्रको अपनत्व बढेको छ भने सरकारले गर्ने सहयोगको दायरासमेत बढेको देखिन्छ ।

    राज्यले पर्यटन विकास र सहजीकरणमा गरेको प्रयाश अन्तर्गत छुट्टै पर्यटक प्रहरी, हरियो प्लेटका सवारीको व्यवस्था, पर्यटनका लागि गुणस्तरी सेवा दिने पर्यटकीय संस्थाले विदेशबाट ल्याउने सामानमा कर छुट, पर्यटकीय सवारी किन्दा दिने छुटसहितको काम निकै सह्रानीय छ । यति हुँदा हुँदै पनि निजी क्षेत्रले सोचे अनुसार राज्यबाट पूर्वाधार विकास भने हुन सकेको छैन ।

    असफलताको पाठ

    लामो समयसम्म प्रभावकारी काम हुन नसक्नुमा सरकारी कमजोरी पक्कै छ । यस अघि सन् २०११ को पर्यटन वर्ष सकिन नपाउँदै भिजन २०२०, २०१६–२५ को लागि पर्यटन विकासको रणनीतिक योजना, २०२३–३० को पर्यटन दशक, पाँच÷पाँच वर्षे आवधिक योजना पनि तय भएकै थिए । तर, ती तय भएका योजना र कार्यक्रम तथा पर्यटनमा दीर्घकालिन काम गर्ने भनेर आएको योजनाको कार्यान्वयन पक्ष भने फितलो बन्यो ।

    आजको दिनमा हाम्रो पर्यटनको दिशाविहीन हुनुको कारण पनि राजनीतिक अस्थिरतादेखि भएकै योजनाका प्रभावकारी कार्यान्वयन नभएर भएको हो । नेपालको पर्यटन अब कता जाने ? कस्ता निकायसँग वास्तविक समन्वय गर्ने भन्ने विषय नै ’डिरेल’ भएको अवस्था छ । यसलाई छिटो ट्रयाकमा ल्याउनुपर्छ । एकैपटक धेरै कम गर्नुपर्छ भन्ने होइन, काम कम गरौं तर त्यसलाई वास्तविक र मूर्त रूप दिनुपर्छ भन्ने हुनुपर्छ ।

    प्रभावकारी पर्यटन विकासका लागि र प्रतिफलमुखि काम गर्न यस अघि आएका कार्यक्रमभन्दा पर्यटन प्राथमकिताका दशकको रूपमा नयाँ कार्यक्रम ल्याउनुपर्छ । पर्यटन प्राथमिकताका दशकमा के गर्ने भन्ने विषय पक्कै पहिल्याउनुपर्छ । पर्यटन पूर्वाधारमा राज्यले गर्ने लगानी, निजी क्षेत्रले गर्ने लगानी, पर्यटक भित्र्याउने लक्ष्य, त्यसका लागि आवश्यकजनशक्तिसहितका विषयलाई अहिले नै निक्र्योल गरेर अगाडि बढ्नुपर्छ ।

    अबको बाटो

    नेपालको पर्यटन क्षेत्रको विकासका लागि राज्य तथा निजी क्षेत्रले भएकै गन्तव्यको विकास र प्रवद्र्धनमा मात्रै लगानी गरे पुग्छ । भएकै गन्तव्यको विकास गर्ने हो भने पनि अबको कम्तिमा २० वर्षको लागि नयाँ गन्तव्य खोजिरहनु पर्नेछैन । जे छ त्यही गन्तव्यको विकास गर्ने र प्रर्वद्धन गर्ने हो भने पनि हामीसँग अहिलेकै पर्यटन गन्तव्य पर्याप्त छन् ।

    भएका गन्तव्य जुन अन्तर्राष्ट्रिय स्तरका छैनन् त्यतातर्फ ध्यान गएको छैन भने नयाँ गन्तव्य पनि प्रवद्र्धन गर्न सकिरहेका छैनौं । यसैका लागि हामीले राम्रो होमवर्क गर्ने, सही टीम छनोट गर्ने र फोकस भएर काम गर्ने हो भने तीन देखि पाँच वर्षमै देखिने गरी पर्यटन क्षेत्रमा परिवर्तन ल्याउन पक्कै सकिन्छ । पर्यटन मन्त्रालय अन्र्तगतका निकायहरूको कामको मात्रै रिभ्यू गर्ने र लक्ष्यसहितको जिम्मवारी दिने मात्रै हो भने पनि पक्कै नतिजामुखी काम छोटो समयमा नै देखाउन सकिन्छ ।

    निजी क्षेत्र जति लगानी गरेर सक्रिय भएको छ त्यति लाभ पाउन सकेको अवस्था देखिँदैन । अहिले विदेशी पर्यटकले गर्ने दैनिक खर्च प्रतिदिन ४०÷४५ डलरमा सीमित छ । हामीसँग भएको गन्तव्य र क्षमताको हिसावले हेर्ने हो भने यो खर्च निकै कम हो ।

    नेपालको समस्या खर्चालु पर्यटक (हाइइण्ड टुरिष्ट) मा पहुँच नपुग्नु, गन्तव्यको प्रवद्र्धन हुन नसक्नु र अन्तर्राष्ट्रिय बजारसम्म हामी पुग्न नसक्नु नै हो । यसले गर्दा हामीले पाउनुपर्ने प्रतिफल पाइरहेका छैनौं । यसका लागि राम्रो होमवर्क नै नपुगेको हो । यसका लागि राज्यले पूर्वाधार छिटोभन्दा छिटो सुधार गर्ने, अध्यागमनको भिसा सहजीकरण गर्ने, भएकै अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा सञ्चालन दीर्घकालीन रूपसम्ममा हुने गरी जानुपर्छ ।

    गुणस्तरीय खर्च गर्ने व्यवस्था बढाउन पनि कि त राज्यले नियन्त्रण गर्नुपर्छ अन्यथा ठूलो लगानी भएको निजी क्षेत्रको नियन्त्रणमा हुनुपर्छ । त्यसो भयो भने खर्च गर्ने पर्यटक बढ्ने अधिक लाभ लिन सकिने हुन्छ ।

    अहिले त मिश्रित रणनीतिमा काम भइरहेको अवस्था छ । जसले गर्दा खर्चालु र बजेट टुरिष्ट दुबैलाई एउटै एजेन्सीले ह्याण्डेल गरिरहेको छ । हामीले गर्ने कामर्यक्रम पनि गुणस्तरीय पर्यटक लक्षित हुनुपर्छ । भएकै गन्तव्यको विकास गर्ने र सेवा सुविधामा केन्द्रित हुनुपर्छ । यसको प्रयासस्वरूप पर्यटन बोर्डले काम गर्दै आएको र बजेट खर्च पनि पर्यटकीय सेवा र सुविधामै बढाउदै लगिरहेको छ ।

    (जोशी नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख हुन् ।)

    प्रतिक्रिया दिनुहोस्
    images
    images