images
images
  • नेपालमा लगानीका अवसर र व्यवस्थापन

    –सुशील ज्ञवाली

    नेपालमा अहिले धेरै लगानी चाहिने क्षेत्र मध्येको एउटा प्रमुख क्षेत्र ऊर्जा पूर्वाधार नै हो । नेपालको ऊर्जा क्षेत्रको विकासक्रम सरकारी तथा विदेशी सहयोगमा बनेका आयोजनाबाट भए पनि यसको तीब्र विकास भने निजी क्षेत्रको प्रवेशपछि मात्रै सम्भव भएको हो ।

    निजी क्षेत्रले पूर्वाधार क्षेत्रमा लगानी गर्ने भन्ने अवधारणाको सुरुआत नै ऊर्जा क्षेत्रबाट भयो । नेपालको ऊर्जा विकासमा निजी क्षेत्रले २५ वर्षभन्दा लामो समयदेखि योगदान गरिरहेको छ । यो क्षेत्रमा दीर्घकालीन लगानी गरेर लाभ लिन सकिन्छ भन्ने दृष्टिकोण स्थापित भएको छ ।

    बिगत २५÷३० वर्षको अवधिमा नेपालमा विभिन्न उतारचढाव देखिए पनि जलविद्युत्् विकासमा गौरव गर्न सकिने गरी प्रगति हासिल भएको छ । नेपालको जलविद्युत उत्पादनको क्षमता जे जति छ त्यसको तुलनामा भने यो निकै कम हो । त्यसकारण नेपालले आफ्नो क्षमता अनुसारको जलविद्युत उत्पादन गर्ने हो भने यहाँ धेरै ठूलो लगानीको आवश्यकता पर्ने देखिन्छ ।

    सरकारले अघि बढाएको २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पु¥याउने लक्ष्य हासिल गर्नको लागि मात्रै ६२ खर्ब रुपैयाँ भन्दा बढी लगानी आवश्यक पर्ने देखिएको छ ।

    लगानी

    नेपालमा ऊर्जाको विकास गर्न अझै ठूलो लगानी आवश्यक छ । १६औंँ पञ्चबर्षीय योजनामा हामीले ऊर्जाका साथै पूर्वाधारको क्षेत्रमा अपेक्षा गरेको लगानी ११२ खर्ब रुपैयाँ हो । यसमा सरकारले गर्ने लगानी भनेको ३४ खर्ब रुपैयाँ मात्र हो । यसमा ७४ खर्ब रुपैयाँ बराबरको लगानी निजी क्षेत्रबाट हुने अपेक्षा गरिएको छ भने बाँकी ४ खर्ब सहकारी वा सामुदायिक क्षेत्रबाट गर्ने लक्ष्य छ ।

    पूर्वाधारमा वा विकासको कार्यमा निजी क्षेत्रले गर्ने लगानी १६औं पञ्चवर्षीय योजनाले नै घोषित गरेको छ । हाम्रो कुल गार्हस्थ उत्पादनको लक्ष्य पूरा गर्न पर्याप्त ऊर्जा चाहिन्छ । यस्तै दिगो विकास लक्ष्य पूरा गर्न वार्षिक २० खर्ब रुपैयाँ लगानी चाहिन्छ । यसमा पूर्वाधारमा मात्रै १५ खर्ब र अन्य समग्र विकासका क्षेत्रमा ५ खर्बसहित २० खर्ब चाहिन्छ । पूर्वाधार क्षेत्रमा वार्षिक १५ खर्ब लगानी भनेपनि अहिले वार्षिक ५ खर्बभन्दा माथि जान सकेको छैन । १० खर्ब अझै पनि न्यून छ ।

    त्यो पूरा गर्ने भनेको निजी क्षेत्रबाटै हो । सरकारको परम्परागत ढाँचाबाट खर्च गरेर त्यो लक्ष्य पूरा गर्न सकिँदैन । त्यही भएर वैकल्पिक लगानीका क्षेत्र चाहिन्छन् । त्यसका लागि निःसन्देह निजी क्षेत्रमार्फत वैकल्पिक लगानीको ढाँचाबाट लगानी गर्न आवश्यक छ । निजी क्षेत्रबाट ऊर्जामा धेरै लगानी भएको छ । त्यो लगानी उत्पादनमा मात्रै केन्द्रित भएको छ । उत्पादन भएको ऊर्जा लक्षित क्षेत्रमा पु¥याउन प्रसारण लाइन चाहिन्छ । अन्य विभिन्न पूर्वाधार चाहिन्छन । अहिले हामी प्रसारण लाइनमा नेपाल धेरै कमजोर छ ।

    विद्युत््को वितरण प्रणाली बलियो बनाउन आवश्यक छ । विद्युत््को प्रसारण तथा वितरणमा अब निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्नु जरुरी छ । पूर्वाधारमा लगानी गर्दा देश भित्रकै पैसा परिचालन गर्ने हो भने त्यही अनुसारका वित्तीय उपकरण चाहिन्छन् । त्यसका लागि पूर्वाधार बण्ड जारी गरेर पुँजी सकंलन गर्न सकिन्छ ।

    सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा काम गरेर निजी क्षेत्रलाई संलग्न गराउन सकिन्छ । निजी क्षेत्रको लगानी, प्रविधि प्रयोग गरेर आयोजना बनाउन सकिन्छ । केही समयका लागि बुट मोडलमा सञ्चालन गर्नुपर्छ । यसो गर्दा लगानीकर्ताले गरेको लगानी र प्रतिफल पाएपछि सरकारलाई हस्तान्तरण गर्छन् अनि सरकारले सञ्चालन गर्छ ।

    नयाँ जलविद्युत्् निर्माणमा अब नवीन अवधारणामा पनि काम गर्नुपर्ने अवस्था छ । त्यस निम्ति एसेट मोनिटाइजेसन मोडलमा पनि काम गर्न सकिन्छ । कालीगण्डकी आयोजना चलिरहेको छ । दूधकोसी आयोजना बनाउँदा कालीगण्डकीलाई मोनिटाइज गरेर आएको लगानीबाट दूधकोसी आयोजना निर्माण गर्न सकिन्छ । एउटा आयोजना धितोमा राखेर वा एक आयोजनाको भावी आम्दानी आज प्राप्त गरी अर्को बनाउन सकिन्छ । आयोजना हाम्रा सम्पत्ति हुन् । कालीगण्डकी र दूधकोसीको नाम यहाँ उदाहरणका रुपमा लिइएको हो ।

    लगानीका निम्ति सोभरियन्ट वेल्थ फन्ड सञ्चालन गर्न सकिन्छ । त्यसका लागि सञ्चय कोष, नागरिक लगानी कोषहरूको पैसाले ठूलो कोष बनाउने, त्यसमा विदेशी फन्ड पनि ल्याउन सकिन्छ । हामीले आयोजना बनाउँदै गर्दा त्यसले लाभ दिन सक्छ वा सक्दंन ? लगानीको प्रतिफल कति आउँछ ? लगानीगर्दाका चुनौती के के छन् ? आदि पक्ष हेर्नुपर्छ ।

    लगानीका निम्ति संयुक्त कोषको प्रयोग गर्न सक्छौं । अनुदान र ऋणसहित संयुक्त लगानी गर्दा लाभ लिन सकिन्छ भने त्यसरी लगानी गर्न सकिन्छ । यस्ता खाले उपकरण प्रयोग गरेर हामीले लगानी जुटाउन सक्छौं । यसले ऊर्जा क्षेत्रको विकासमा समेत अझ धेरै काम गर्न सकिन्छ । ऊर्जा उत्पादनदेखि प्रसारण लाइन निर्माणसम्म गर्न सकिन्छ । सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत्् उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यसका लागि पनि लगानी जुटाउन यी मोडल अपनाउन सकिन्छ ।

    भारतले पछिल्लो समय गरेको विकास मूलतः वैकल्पिक वित्त मोडल प्रयोग गरेर गरेको हो । मुलुकमा भएको पुँजी र बाहिर भएको पुँजीलाई परिचालन गरेर पूर्वाधार क्षेत्रमा लगानी गरेको छ । त्यसले आर्थिक सुधार गरेर चाँडो आर्थिक विकास गर्न सकिन्छ ।

    सम्भावना

    हामीसँग भएको ‘र’ इनर्जी नेपालमा उपभोग गर्नुका साथै भारत, बंगलादेशसँग निर्यात गर्न सक्छौं । कोरियालगायतका कतिपय देश हाइड्रोजन ऊर्जामा गएका छन् । उनीहरूले हाइड्रोजन ऊर्जामा राम्रा प्रविधि विकास गर्न थालेका छन् । हामीले नेपालमा ऊर्जा सञ्चयका मोडल विकास गर्न सक्दा धेरै लाभ हुन्छ । ऊर्जालाई निर्यातमात्र होइन, स्वदेशमै लगानीको साधनका रुपमा प्रयोग गरेर थप आर्थिक विकास गर्न सक्छौँ ।

    अब औद्योगिकीकरणमा बढी ध्यान दिन आवश्यक छ । हामीसँग सस्तो श्रमशक्ति छ । हामीसँग कच्चापदार्थ पनि सहज छ । नेपालमा ठूला होटल र उद्योग खुल्न थाले भने त्यसले ऊर्जाको खपत बढाउँछ । सवारी साधनलाई विद्युत्ीयमा लैजाने, घरमा ग्यासको सट्टा विद्युत्ीय उपकरण प्रयोग गर्ने हो भने स्वदेशमा नै खपत बढी हुन्छ । मल कारखाना खोल्न सकिन्छ र यसले धेरै विद्युत् ऊर्जा खपत गर्छ । सस्तो ऊर्जा प्रयोग गरेका उत्पादनले बजार प्रतिस्पर्धा गर्न सक्छ । निर्यात बढाउन सकिन्छ ।

    संसारभर एमोनियाको निकै धेरै माग छ । ठूला–ठूला देशका उद्योगमा आवश्यक पर्ने हाइड्रोजन, लिक्युड हाइड्रोजनको माग बढ्दो छ । यसमा हाम्रो ध्यान जान आवश्यक छ ।

    ऊर्जा उत्पादन र प्रयोगमा योजनाबद्ध रुपमा काम गर्नुपर्छ । सवारी साधनमा प्रयोग हुने इन्धन, घरेलु इन्धनलाई विद्युत्ीय प्रयोग बढाउने अवसर आएको छ । यसैगरी औद्योगिक क्षेत्रमा ऊर्जाको खपत बढाउँदा नयाँ रोजगारी सिर्जना गर्न सकिन्छ । यसबाट इन्धन आयात घट्छ भने निर्यात बढ्छ । ऊर्जा क्षेत्रमा नेपाल अगाडि जाने सम्भावना छ ।

    नेपालले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाटको लक्ष्य लिएको छ । त्यसका लागि कुन–कुन आयोजना कहिले कहिले सम्पन्न गर्ने भन्ने स्पष्ट लक्ष्य किटान गर्नुपर्छ । जलविद्युत््मा मात्र पूरै निर्भर नरही ऊर्जा मिश्रणको अवधारणाबाट समेत जानुपर्छ । सौर्य तथा वायु ऊर्जाले ऊर्जा मिश्रण गरी दिगो विकासमा अगाडि जान सक्ने बनाउँछ । नेपालमा कति वटा आयोजना सरकारले, कति निजी क्षेत्रले बनाउने र कति आयोजनमा वैदेशिक लगानीमा बन्ने भनेर टुंगो लगाउन धेरै ढिला भइसकेकोे छ ।

    जलविद्युत्मा लगानी चुनौती

    ऊर्जा क्षेत्रले अहिले भोगेको मुख्य चुनौती भनेको जलवायु परिवर्तनका कारण भइरहेको विपद् हो । यो नेपालको कारणले मात्रै भएको होइन । अहिले जलवायु परिवर्तनका कारण जुनसुकै बेला आउन सक्ने विपत्ति र त्यसले पार्ने प्रभावलाई हेर्न जरुरी छ ।

    ऊर्जा क्षेत्रमा कानुनी रुपमा देखिएका समस्यासमेत समाधान गर्न आवश्यक छ । सरकार र निजी क्षेत्र दुवैले एक अर्काको चासोलाई सम्बोधन गर्नुपर्छ ।

    सौर्य ऊर्जामा पनि नेपालमा धेरै सम्भावना छ । यसमा लगानी बढाउनुपर्छ । सौर्य ऊर्जामा अहिले प्रविधिको द्रुततर विकास भएको छ । त्यसमा ध्यान दिनुपर्छ । ऊर्जा समिश्रणलाई हेर्न आवश्यक छ । कुन समयमा कस्तो ऊर्जा आवश्यक पर्छ, त्यो हेर्नुपर्छ । त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ त्यसमा गम्भीर ध्यान दिनुपर्छ ।

    (ज्ञवाली लगानी बोर्डका सिइओ हुनुहुन्छ ।)

    प्रतिक्रिया दिनुहोस्
    images
    images