–उपासना पौडेल, सीइओ, हिमालयन रिइन्स्योरेन्स
बीमा कम्पनीहरूले व्यक्ति तथा व्यवसायलाई वित्तीय नोक्सानीबाट जोगाउने जिम्मेवारी लिन्छन् । जीवन बीमा कम्पनीले व्यक्तिको जोखिम लिन्छन् भने निर्जिवन बीमा कम्पनीले व्यवसायको जोखिम बहन गरिरहेका हुन्छन् । तर, प्रश्न उठ्छ विशेष गरी प्राकृतिक प्रकोपको उच्च जोखिम भएका देशहरूमा सम्भावित विनाशकारी नोक्सानीबाट यी कम्पनीहरूले आफूलाई कसरी सुरक्षित राख्छन् ? यसको उत्तर पुनर्बीमा कम्पनीहरुमा सन्निहित हुन्छ ।
पुनर्बीमा एउटा परिष्कृत प्रणाली हो, जसले बीमाकर्ताहरुलाई आफ्नो जोखिमको केही हिस्सा अन्य बीमा कम्पनीहरूमा स्थानान्तरण गर्न सक्षम बनाउँछ । बीमा कम्पनीले व्यक्ति तथा व्यवसायको प्रतक्ष बीमा गरेका हुन्छन् भने पुनर्बीमा कम्पनीले बीमा कम्पनीहरुले जारी गरेका पोलीसीको पुनः बीमा गरिदिन्छन् । त्यसैले यस्ता कम्पनीको नाम नै पुनर्बीमा कम्पनी राखिएको हो । यस्तो अभ्यासले बीमा कम्पनीहरूको वित्तीय स्थायित्वलाई बलियो बनाउन मद्दत मात्र गर्दैन, विशेष गरी नेपाल जस्तो भूकम्प, बाढी र पहिरोको उच्च जोखिमयुक्त देशमा, बीमा दाबीहरुको भुक्तानी क्षमतालाई समेत सुनिश्चित गर्न सहयोग पुयाउँछ ।
पुनर्बीमालाई कसरी बुझ्ने ?
पुनर्बीमालाई ’बीमाको पनि बीमा’का रूपमा हेर्न सकिन्छ । यो एउटा जोखिम व्यवस्थापन रणनीति हो, जसमा बीमा कम्पनीले ठूला वा विनाशकारी दाबीहरूको वित्तीय बोझबाट आफूलाई जोगाउन पुनर्बीमाबाट ’कभरेज (बीमा)’ खरिद गर्छन् । एक वा एक भन्दा बढी पुनर्बीमा कर्तासँग जोखिम साझेदारी गरी मूल बीमाकर्ताले आफ्नो क्षतिको जोखिमलाई सीमित गर्छ, जसले उसलाई ठूला दाबीहरूको सामना गर्नुपर्दा पनि आर्थिक रूपमा स्थिर रहने क्षमता प्रदान गरिदिन्छ ।
दृष्टान्तका लागि सन् २०१५ मा नेपालमा गएको गोरखा भूकम्प वा अप्रत्याशित बाढीले पुर्याएको क्षतिजस्ता कुनै पनि ठूला प्राकृतिक विपत्ति आइपर्दा बिमा कम्पनीहरूलाई ठूलो आर्थिक असर पर्न सक्छ। यसमा बीमितहरूको दाबी अर्बौ रुपैयाँसम्म पुग्न सक्छ, जुन एउटा बीमा कम्पनीले धान्न सक्नेभन्दा धेरै परको विषय हुन्छ । यस्तो अवस्थामा पुनर्बीमाको भूमिका महत्वपूर्ण हुन्छ ।
पुनर्बीमा सम्झौताको माध्यमबाट सिडिक कम्पनी (बीमा कम्पनी) ले जोखिमको केही हिस्सा मात्र आफूले बेहोर्छन् भने बाँकीको ठूलो हिस्साको जिम्मेवारी पुनर्बीमाले लिन्छ दायित्वको यस साझेदारीले बीमा कम्पनीलाई विपद्पछि पनि सञ्चालनमा रहन, दाबीहरुको भुक्तानी दिइरहन र नयाँ पोलिसी धारकहरूलाई कभरेज प्रदान गर्न सक्ने सामथ्र्य सुनिश्चित गर्छ ।
नेपालको बीमा बजार र पुनर्बीमाको आवश्यकता
पछिल्लो समय नेपालको पुनर्बीमा बजारमा उल्लेख्य परिवर्तन आएको छ । देशको आर्थिक विकाससँगै ठूला र अधिक जटिल जोखिम पनि बढेका छन् । साथै, नियम, कानुनहरूको विकास र पूर्वाधारमा बढ्दो लगानीले पनि बीमा कम्पनीहरूलाई ठूला जोखिम व्यवस्थापनका उपयुक्त समाधानहरू खोज्न उत्प्रेरित गरेको छ । यसैगरी, प्राकृतिक विपत्ति विशेष गरी भूकम्प र बाढीले बीमा क्षेत्रमा ठूलो जोखिम थपेको छ, जसले दाबीको सम्भावित वृद्धिलाई व्यवस्थापन गर्न पुनर्बीमामा ठोस ढाँचाको आवश्यकतामा जोड दिएको छ ।
आर्थिक वर्ष २०८०/८१ सम्म नेपालको बीमा उद्योगमा दुई पुनर्बीमा कम्पनी, १४ निर्जीवन बीमा कम्पनी, १४ जीवन बीमा कम्पनी र सात लघु बीमा कम्पनी सञ्चालनमा रहेका छन् । यी कम्पनीहरूमा परिचालित कुल इक्विटी पुँजी लगभग १ खर्ब ९ अर्ब रुपैयाँ छ। यसमध्ये ५० प्रतिशत हिस्सा जीवन बीमाले ओगटेको छ भने बाँकी आधामा निर्जीवन बीमा, लघु बीमा र पुनर्बीमा कम्पनीहरूको हिस्सेदारी छ ।
सोही आर्थिक वर्षमा उद्योगले कुल प्रिमियम १ खर्ब ९७ अर्ब रुपैयाँ संकलन गरेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ८ प्रतिशतले बढी हो । यो वृद्धिले बीमा उद्योगमा पुनर्बीमाको माग निरन्तर रूपमा बढिरहेको देखाउँछ बीमा कम्पनीहरूले आफ्ना ’प्रडक्ट’ र बजारमा पहुँच विस्तार गर्ने क्रममा जोखिमलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न पुनर्बीमाको प्रयोगलाई प्राथमिकता दिन थालेका छन् ।
पुनर्बीमा क्षेत्रको विकास
नेपालमा पुनर्बीमाको इतिहास २०१४ (२०७१ साल ) मा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को स्थापनासँगै भएको हो। नेपाल रिको स्थापना देशको बीमा क्षेत्रमा एउटा महत्वपूर्ण कोशेढुंगा साबित भयो । यसले अत्यावश्यक घरेलु पुनर्बीमा क्षमता प्रदान गर्नुका साथै विदेशी पुनर्बीमा माथिको निर्भरता घटाउने काम सुरु ग¥यो । नेपाल रि स्थापना हुनुअघि, पुनर्बीमा सम्बन्धी अधिकांश प्रिमियम विदेशी बजारमा भुक्तानी गरिन्थ्यो । यसले नेपालको वित्तीय प्रणालीबाट ठूलो मात्रामा पुँजी बाहिरिने समस्या निम्त्याएको थियो ।
नेपाल रिको स्थापना भएपछिको सुधारले बीमा उद्योगलाई थप स्थायित्व र आत्मनिर्भरता प्रदान गरेको छ । सन् २०२१ (२०७८साल) मा हिमालयन पुनर्बीमा लिमिटेड (हिमालयन रि) को स्थापना भयो र योसँगै नेपालको पुनर्बीमा उद्योगको परिदृश्य थप मजबुत भएको छ । तथ्यांकअनुसार गत तीन वर्षमा बीमा कम्पनीहरूले तिर्ने पुनर्बीमाको प्रिमियममा खासै उल्लेखनीय वृद्धि नभएको भए पनि मुलुकका पुनर्बीमा कम्पनीहरूमा गएका पुनर्बीमाका प्रिमियम आर्थिक वर्ष २०८०÷८१ मा यो बढेर १९ अर्ब रुपैयाँ पुगेको देखिन्छ ।
अर्थतन्त्रको मजबूतीकरणमा भूमिका
नेपालमा पुनर्बीमा क्षेत्रको विकासले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव र योगदान छ । विदेशी पुनर्बीमा कम्पनीहरूमा गइरहेको पुनर्बीमाको प्रिमियमलाई मुलुकभित्रै राख्न सहयोग गरेर पुँजीको बहिर्गमनलाई घटाउँदै छ ।
अर्थतन्त्रका विभिन्न क्षेत्रहरु जस्तै पूर्वाधार, कृषि, जलविद्युत र पर्यटनमा लगानीलाई पनि प्रोत्साहित गर्छ । ती परियोजनासँग सम्बन्धित जोखिमलाई पुनर्बीमामार्फत प्रभावकारी रूपमा व्यवस्थापन गरिएको थाहा पाएपछि लगानीकर्ताले यस्ता ठूला परियोजनामा लगानी गर्ने सम्भावना बढ्छ । यसले समग्र अर्थतन्त्रमै आत्मविश्वास बढाउँछ र दीर्घकालीन विकास लक्ष्यहरूको प्राप्तिमा सहयोग गर्छ ।
चुनौती र अवसर
नेपालको पुनर्बीमा बजारको वृद्धि आशातीत नै छ तर यो क्षेत्रले सम्बोधन गर्नुपर्ने थुप्रै चुनौतीहरू पनि छन् । विशेष गरी भूकम्प र बाढीको जोखिमलाई दृष्टिगत गर्दा विपत्तिकारी जोखिमको बढ्दो सामना एउटा प्रमुख चुनौती हो । यी जोखिमको आवृत्ति र गम्भीरता दुवैमा वृद्धि हुँदै जाँदा पुनर्बीमाको माग पनि बढ्दै जानेछ, जसले पुनर्बीमा सेवा प्रदायकहरूलाई पर्याप्त पुँजी र जोखिम व्यवस्थापनका अभ्यासहरू कायम राख्न दबाब दिनेछ ।
पुनर्बीमाको भविष्य
नेपालको अर्थतन्त्रको विविधीकरण र विकास हुँदै जाँदा पुनर्बीमा क्षेत्रले जोखिम व्यवस्थापन, बीमा कम्पनीहरूलाई सहयोग र आर्थिक स्थायित्वमा योगदान पुयाउनमा महत्वपूर्ण भूमिका खेल्नेछ । आगामी वर्षहरूमा हिमालयन रि र नेपाल रि जस्ता कम्पनीले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै जाँदा विश्वव्यापी पुनर्बीमा परिदृश्यमा नेपालको पुनर्बीमा बजारको थप एकीकरणको अपेक्षा गर्न सकिन्छ ।
निष्कर्ष
पुनर्बीमा सापेक्षिकरुपमा एक शिशु उद्योगबाट वित्तीय स्थायित्वको एक प्रमुख स्तम्भको रूपमा विकसित भएको छ । यसले आन्तरिक बीमक र अर्थव्यवस्था दुवैलाई सहयोग गरिरहेको छ । नेपालको बीमा उद्योग विकसित हुँदै जाँदा पुनर्बीमाको माग पनि बढ्दै जानेछ । प्राकृतिक एवं मानव सिर्जित दुवै खाले चुनौतीहरूको सामना गर्न नेपाल लचिलो (सबल) भएको सुनिश्चित गर्न यो क्षेत्रले आफूलाई बदलिँदो बजार गतिशीलता, नियामकीय सर्तहरू तथा बढ्दो जोखिमहरूसँग समायोजन गर्नु अपरिहार्य हुन्छ ।
(पौडेल हिमालयन रिइन्स्योरेन्स कम्पनीका सीइओ हुन् ।)





















