–केपी शर्मा ओली, प्रधानमन्त्री
नेपालको ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा आधारित छ । तर, राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान कम छ । सर्वाधिक जनसंख्या त्यसमा आवद्ध हुने, उत्पादन र उत्पादकत्व न्युन हुने, लगानी र मेहनत अनुसारको प्रतिफल छैन, त्यसको हामीले आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायिकीकरण गर्न सकेका छैनौं । त्यसलाई उपयुक्त बजार पनि खोज्न सकेका छैनौं । यस्ता थुप्रै समस्याहरू छन् ।
हामीले जीविकाका लागि पनि खाद्यान्न बाहिरबाट निर्यात गर्नुपर्ने अवस्था छ । पहिले हाम्रो देश कृषिमा निर्यातक थियो, आत्मनिर्भर मात्र होइन । तर, अहिले आत्मनिर्भर पनि छैन, आयातक देश बनेको छ । यो बहुतै दुःखको कुरा हो । जसलाई हामी फेर्न चाहिरहेका छौं ।
कृषिको आधुनिकीकरण नभइकन सानासाना कृषि आधारित उद्योगहरूको विकास हुन सक्दैन । जबसम्म साना, मझौला, घरेलु कृषि आधारित उद्योगहरूको विकास हुँदैन, तबसम्म रोजगारीको संकट पैदा भइरहन्छ । किनभने सबैभन्दा बढी रोजगारी त्यही अल्झिएको छ, त्यसलाई रोजगारी दिनु पर्नेछ र त्यसलाई आयमूलक रोजगारी दिनु पर्नेछ ।
फेरि अहिले जमाना नै एकखालको असन्तुष्टि प्रधान छ । मान्छे असन्तुष्ट छ, असन्तुष्ट व्यक्त गर्न चाहन्छ । त्यसलाई फ्युलिङ गरेर अराजक तत्वहरू अस्थिरता ल्याउन खोज्छन् । तर परिस्थितिमा परिवर्तन ल्याउने उनीहरूमा जनमत छैन । त्यसकारण सानो संख्याले अराजकता सिर्जना गर्ने र सानो संख्याले असन्तुष्टिलाई दुरूपयोग गर्ने र जनतामा रहेको असन्तुष्टिलाई दुरूपयोग गर्ने र त्यस दुरूपयोगलाई क्षणिक आन्दोलनको रूपमा ल्याउने प्रयास जारी छ । उनीहरूलाई कहाँ पुग्ने, के प्राप्त गर्ने भन्ने थाहा छैन । त्यो प्राप्त गरेपछि के हुन्छ, त्यो थाहा छैन ।
अहिले किसानका अभियानहरू कमजोर भइराखेको छ । परिवर्तनका लागि प्रयासहरू कमजोर भइराखेको छ । यी परिवर्तनका लागिका प्रयासहरूलाई एकताबद्ध गरौं ।
अहिलेको समाज असन्तुष्टि प्रधान छ । त्यसकारण यसलाई हामीले साकारात्मक ढंग र सोचका साथ भिजन दिएर बदल्न सक्नुपर्दछ । आर्थिक परिस्थितिमा परिवर्तन आयो र गरिबी निवारण भयो भने अरु कुराहरू ठीक लयमा आइहाल्छन् । तर, भएका राजनीतिक परिवर्तन र उपलब्धिहरूलाई हामीले जनताको जीवनस्तरसँग जोड्न सकेनौं, जनताको जीवनस्तर उठाउने कुरामा जोड्न सकेनौं र जनतालाई केही पनि दिन सकेनौं, भोट खसाउने मात्रै अधिकार दियौँ र अरु केही पनि दिन सकेनौं भने भोट खसाउने अधिकार पनि कहिले कहिले बाहुबलीहरूले खोसिदिन्छन् र तिम्रो भोट पनि मै खसाउँछु भनेर आफ्नै चलाउँछन् । त्यस्ता खालका परिस्थितिहरूबाट हामीले समाजलाई परिवर्तन गर्नुपर्ने छ । यसका निम्ति हामीले स्पष्ट दृष्टिकोण तय गर्नु पर्दछ । त्यो दृष्टिकोण कार्यान्वयन गर्न हामीसँग संकल्प हुनुपर्छ र त्यो दृष्टिकोण कार्यान्वयन गर्न सक्छौं भन्ने ठान्नुपर्छ ।
अहिले एउटा प्रगतिशील शक्ति, परिवर्तनकारी शक्ति, जनताको पक्षको शक्ति र एउटा देशभक्ति शक्ति सरकारमा छ । सबैभन्दा लोकप्रिय पार्टीको रूपमा स्थापित छ । उनीहरु यो कुरा आन्तरिक र बाह्य विभिन्न प्रकारका नेपाल विरोधी, जनविरोधी र प्रगतिविरोधी शक्तिहरूलाई पाच्य भइराखेको छैन ।
आज हामी एउटा लामो यात्रा तय गरेर आयौं । दुर्गमबाट सहजमा, सहजबाट शहरमा, शहरबाट ठूला शहरमा र ठूला शहरबाट विदेशतिर पलायन हुने प्रवृत्ति बढिराखेको छ । खेतबारी छ, त्यो भन्नुमात्रै छ । त्यहाँको आम्दानीले अरु कुरा त छोड्दिऔं, खान लगाउन पुग्दैन भने मान्छे कसरी थातथलो भनेर भावनामा कसरी बाँच्न सक्छ, कसरी रहन सक्छ ? त्यसकारण त्योभन्दा बाहिर मान्छे कुद्छ ।
मानव जाति आधुनिकतामा प्रवेश गरेको कृषि र पशुपालनबाटै हो । आधुनिकता त्यसैबाट प्रवेश गरेको हो । १२ हजार वर्षदेखि हामी कृषिको क्षेत्रमा काम गरिराखेका छौं । जीविकाका लागि त कृषि चाहिन्छ । यसमा हरेकले काम गरिराखेका छन् । यतिका वर्षदेखि हामी कृषि गरिराखेका छौं तर कृषिमा पछाडि छौं ।
अमेरिकामा सन् १९३० को आसपास वा दशकतिर ग्रिन रिभोलुसन द एग्रिकल्चर फिल्ड आयो । भारतबाट हामी कहाँ आउन खुला सीमाना छ, अरु सबै कुरा पस्छ तर आधुनिकता पसेन । त्यसकारण अहिले हामीले यसलाई बदल्नु पर्नेछ र कृषिलाई आधुनिकीकरणमा लानुपर्नेछ ।
कृषिले उद्यमशीलता पनि बढाउँछ । उद्यमशीलताले रोजगारीका अवसरहरू पनि सिर्जना गर्दछ । उद्यमशीलताले इनकम जेनेरेट गर्छ । त्यसले मनी ट्रान्जेक्सन बढाउँछ, त्यसले आम्दानी राम्रो भयो भने उसको आयव्ययको स्थितिलाई बचतको स्थितिमा पु¥याउँछ । त्यसो भएपछि गरिबीको निवारण हुन्छ । हामीले खोजेको गरिबीको अन्त्य र समृद्धि हो । पहिलो गरिबीको अन्त्य र यसपछि समृद्धि हो ।
अहिले दुईवटा कुराले सबैभन्दा बढी वातावरण प्रदूषित भएको छ ।
काठमाडौंमा कहिले कहिले प्लेन उडाउन नसकिनेगरी वातावरण खराब हुन्छ, किन ? एउटा वनजंगलमा भएको आगलागीबाट पैदा हुने धुवा र त्यस आगलागीबाट धुवासँगै उड्ने स–साना पाटिकल्स । ती पाटिकल्सले वातावरणलाई स्वास फेर्नै नसकिने स्थितिमा पु¥याएका छन् । हेलिकप्टर किन चल्दैनन् भने ती पाटिकल्स इन्जिनमा जान्छ र त्यसले खराब गर्दिन्छ । प्लेनहरूलाई उड्न र अवतरण गर्न गाह्रो पर्छ ।
हामी सबैभन्दा धेरै धान र गहुँ खेती गर्छौ । त्योभन्दा पछि हामी त्यसको छ्वाली र पराल डडाउँछौं । त्यो पराल डडाएपछि कार्वन इमिसन बेस्सरी हुन्छ र कार्वन इमिसन सँगसँगै पैदा हुने त्यो पाटिकल्स उडेर जान्छन् । सेतो कपडा लगाएर बस्ने हो भने एकछिन् पछि ससाना पाटिकल्स त्यहाँ आफैँ देखा पर्छन् । ती चिजहरू फोक्सामा गएपछि मान्छेको स्वास्थ्य के हुन्छ ?
वातावरण यति प्रदूषित भयो कि यो कुरा मैले मात्रै छ्वालीमा आगो लगाउन छोडेर, छ्वाली डडाउन छोडेर हुँदैन । सबैले गरेर समाधान हुन्छ । यसका लागि रिजनल इफोर्ट चाहिन्छ ।
त्यसकारण हामीले किसानको उत्पादनमा मात्रै जोड होइन कि त्यो उत्पादनको थान्कोमन्को पराल र छ्वाली जम्मा गर्छौं, त्यसको राम्रो व्यवस्थापन नहुँदा पनि ठूलो मात्रामा यसको असर यहाँ परिराखेको छ ।
यसको असर नेपाललाई, भारतलाई, सिक्किमलाई, बंगलादेशलाई मात्रै पर्ने होइन अथवा पाकिस्तानलाई मात्रै पर्ने होइन । यसको असर सबैतिर पर्छ । २४ घन्टामा पृथ्वी घुम्छ । त्यसकारण २४ घन्टामा पृथ्वी घुम्दाखेरी यसको आफ्नो तरिका छ, वायुमण्डलसमेत घुमिराखेको हुन्छ तर २४ घन्टामा रेडियसनहरूको कुरा हुन्छ, त्यसै गरी प्रदूषित कुराहरू पनि २४ घन्टामा तिनको असर भइसकेको हुन्छ । यसर्थ यस्ता कुराहरूमा पनि हामी गम्भीर हुनु जरुरी छ । यस्ता कुरा हाम्रा कृषकहरूलाई सम्झाउन जरुरी छ ।
यतिका वर्षदेखि हामी कृषि गरिराखेका छौं तर कृषिमा पछाडि छौं ।
कसैले थाहा नपाइकन माछाले फूल पारेको जस्तो अब कतिवटा संस्था कराइराखेका हुन्छन् । कुखुराले एउटा अण्डा पार्छ, एउटा अण्डा पारेपछि क्वा क्वा बेस्सरी कराउँछ, सबैलाई थाहा हुन्छ, अण्डा पारेछ भनेर । तर, माछाले अनगिन्ती फूल पारेको हुन्छ तर चुपचाप हुन्छ, माछाले फूल पारेको कसैलाई थाहा हुँदैन । हामी त्यस्तै गरेर गर्न सक्छौं । हल्लाखल्ला बिना हामी ठूलो कन्ट्रिब्युसन गर्न सक्छौ ।
हामी त दुनियाँका अन्नदाता हौं, पालक हौ नि ! ठूलाठूला कुरा गर्ने मान्छेहरू किसानको उत्पादन खाएरै, किसानको सागसब्जी, फलफूल खाएरै बाँचेको हुन्छ । साना काम गर्ने र साना कुरा गर्ने मान्छे पनि तिनै चिज खाएर बाँचेको हुन्छ । किसानको त्यत्रो ठूलो महत्व छ कि किसानले संसार पालेको छ । अब हामीले संसारलाई स्वस्थ खाना वा अर्गानिक फूडबाट पाल्नुछ । पेट भर्नका लागि खाना होइन, स्वस्थ बनाउनका लागि खाना चाहिन्छ । त्यसका लागि किसानले शान्तसँग योगदान दिएका छन् ।
अहिले किसानका अभियानहरू कमजोर भइराखेको छ । परिवर्तनका लागि प्रयासहरू कमजोर भइराखेको छ । यी परिवर्तनका लागि भएका प्रयासहरूलाई एकताबद्ध गरौँ । हाम्रा अनुभव, विचार, आइडियाले नयाँ गन्तव्य तय गरौं।
किसान नेताहरूलाई पनि मेरो यो सुझाव छ, कृषि र कृषकलाई जागरण दिनुहोस् । त्यसका लागि पहिले आफू सचेत र सजग हुनुहोस् र अरुलाई पनि सजग बनाउनुस् ।
(प्रधानमन्त्री ओलीले दक्षिण एसियाली किसान फेडेरेशनको सम्मेलनमा व्यक्त गरेको मन्तव्यको सम्पादित अंश)























