images
images
  • पाकिस्तान ध्वस्त पार्ने मोदी चाह, ट्रम्पलाई भने– अमेरिकी मध्यस्थता स्वीकार्य छैन

    काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पाकिस्तानसँगको द्विपक्षीय मामिलामा भारतले कुनै पनि तेस्रो पक्षीय मध्यस्थता कहिल्यै स्वीकार नगरेको र नगर्ने स्पष्ट पारिदिएका छन् ।

    जी–७ सम्मेलनमा भाग लिन क्यानडा पुगेका मोदीले मंगलबार ट्रम्पसँग ३५ मिनेट फोनवार्ता गर्दै पाकिस्तानबारे भारतको आधिकारिक धारणा राखेका हुन् ।

    इसराइल–इरान युद्धका कारण ट्रम्प सम्मेलन बीचमै छाडेर अमेरिका फर्किएकोले दुई नेताबीच प्रत्यक्ष भेट हुन सकेन ।

    विदेश सचिव विक्रम मिस्रीका अनुसार, जम्मु–कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानमाथि जवाफी कारबाही गरेको थियो ।

    त्यसपछि दुई देशबीच चार दिन लामो सशस्त्र संघर्ष भएको थियो ।

    ट्रम्पले यसबीच आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत अमेरिका नेतृत्वको मध्यस्थतामा भारत र पाकिस्तानबीच युद्धविराम भएको दाबी गरेका थिए ।

    तर, मिस्रीले भने भारतीय सैन्य नेतृत्वसँग पाकिस्तानका समकक्षीले सम्पर्क गरेपछि मात्र कारबाही रोकिएको स्पष्ट पारेका छन् ।

    पाकिस्तानले भने अमेरिकी मध्यस्थताको प्रशंसा गर्दै ट्रम्पलाई धन्यवाद दिएको छ । तर भारतले औपचारिक रूपमा यस्तो कुनै मध्यस्थता स्वीकार गरेको छैन ।

    मोदीले ट्रम्पसँगको कुराकानीमा पनि यही अडान दोहो¥याएका हुन् ।

    मोदीले फोनवार्तामा युद्धविरामको क्रममा भारत–अमेरिका व्यापार सम्झौता या कुनै प्रस्तावबारे चर्चा नभएको पनि ट्रम्पलाई स्पष्ट पारेका थिए ।

    यसअघि ट्रम्पले भारत युद्ध रोकेमा व्यापार सम्झौता गरिने भन्दै दबाब दिएको दाबी गरेका थिए ।

    फोनवार्ताको अन्त्यतिर मोदीले आगामी क्वाड शिखर सम्मेलनका लागि ट्रम्पलाई दिएको निमन्त्रणालाई ट्रम्पले स्वीकार गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images