images
images
  • इरान-इजरायल संघर्षले पेट्रोलको मूल्य बढाउँछ ?

    एजेन्सी : इजरायलले इरानमाथि गरेको आक्रमण र इरानको प्रतिशोधात्मक कारबाहीले विश्वभरका बजारमा तहल्का मच्याएको छ। यसले विशेष गरी कच्चा तेलको मूल्यमा उछाल आयो तर दुई देशबीच भएको मिसाइल र ड्रोन आक्रमणपछि कच्चा तेलको मूल्य फेरि घटेको छ।

    यद्यपि एक महिनाअघिको तुलनामा तेलको मूल्य १० डलरले बढेको छ र बढ्दो ऊर्जा लागतका कारण विश्वभर पेट्रोल र खाद्य पदार्थ लगायतमा महँगी बढ्ने चिन्ता फेरि बढेको छ। तीन वर्षअघि युक्रेनमा रूसी आक्रमणपछि यस्तै भएको थियो, जसले विश्वभरका मानिसहरूको जीवनलाई असर गर्‍यो।

    गत हप्ता इरान–इजरायल आक्रमणको प्रभाव बजारमा तत्काल देखियो। यसले गर्दा, कच्चा तेलको मुख्य अन्ताराष्ट्रिय बेन्चमार्क ’ब्रेन्ट क्रूड’ शुक्रबार प्रतिब्यारेल ७८ डलरबाट बढेको थियो।

    यद्यपि त्यसपछि फेरि घटेर करिब ७४.५० म आइपुगेको छ। यो गत महिनाको सोही अवधिको तुलनामा १० डलर बढी हो। प्रमुख भू–राजनीतिक घटना र विश्वव्यापी अर्थव्यवस्थाका कारण तेलको मूल्य घटबढ भइरहन्छ, त्यसैले इजरायल–इरान द्वन्द्वका कारण तेलको मूल्य बढ्नु अचम्मको कुरा भने होइन।

    अहिलेको मूल्य एक वर्षअघिको भन्दा धेरै कम हो। यो सन् २०२२ मा युक्रेनमा रूसी आक्रमणपछिको वृद्धिभन्दा पनि कम हो। त्यति वेला प्रतिब्यारेल लगभग १३० डलर पुगेको थियो।

    पेट्रोल र अन्य वस्तुको मूल्य बढ्ला ?

    कच्चा तेलको मूल्य बढ्दा पेट्रोलको मूल्य पनि बढ्छ। ऊर्जा महँगो हुँदा कृषिदेखि उत्पादनसम्मका लगभग सबै कुरा महँगो हुन्छ। ऊर्जाको उच्च लागतले कृषि मेसिनरी चलाउन, उत्पादनलाई बजारमा ढुवानी गर्न, खाद्य वस्तुहरूको प्रशोधन र प्याकेजिङ गर्न महँगो पर्न सक्छ।

    यद्यपि ऊर्जाको मूल्य लामो समयसम्म बढिरह्यो भने मात्र यस्तो हुनेछ। कच्चा तेलको बढ्दो मूल्यले पनि पेट्रोल र डिजेलमा सीमित प्रभाव पाने जानकारहरू बताउँछन्। ‘सामान्य नियम भनेको तेलको मूल्यमा १० डलरको वृद्धिले पेट्रोल पम्पमा मूल्य लगभग ७ पेन्सले बढ्ने हो’‚ आर्थिक विश्लेषण फर्म क्यापिटल इकोनोमिक्सका डेभिड अक्सली भन्छन्।

    गत हप्ता इजरायल–इरान आक्रमणपछि ग्यासको मूल्य पनि बढेको छ। यसको प्रभाव सामान्य घरमा बिस्तारै पुग्ने अक्सली बताउँछन्। कन्सल्टेन्सी र अनुसन्धान फर्मका एकजना भूराजनीति प्रमुख रिचर्ड ब्रोन्ज वर्तमान अवस्था धेरै महत्त्वपूर्ण र चिन्ताजनक रहेको बताउँछन्। तर यसको प्रभाव रूस–युक्रेन द्वन्द्व वा मध्य पूर्वमा अघिल्ला समस्याहरू जतिकै ठूलो हुनेछ भन्ने चाहिँ होइन।

    इजरायल र इरान युद्ध कति लम्बिन्छ, अन्य देशहरू पनि यसमा सामेल हुन्छन् वा अमेरिकाले यो तनाव कम गर्न कुनै कदम चाल्छ? भन्ने ठूलो प्रश्न हो। इरानको दक्षिणी तटबाट टाढा रहेको जलमार्ग होर्मुज स्ट्रेटले विश्वभरका कुल तेल उत्पादनको झण्डै पाँचौं हिस्सा विश्व बजारसम्म पुर्‍याउँछ। ‘यो साँघुरो मार्ग हो, त्यसैले यो विश्वव्यापी तेल बजारहरूका लागि धेरै संवेदनशील स्थान हो’, ब्रोन्ज भन्छन्।

    यसअघि कोभिड र त्यसपछि २०२२ मा युक्रेनमा रूसको आक्रमणपछि ऊर्जाको माग फेरि बढिरहेको थियो। तर अब विश्वव्यापी अर्थतन्त्रले कठिन समयको सामना गरिरहेको छ। साउदी अरेबियादेखि ब्राजिलसम्मका तेल उत्पादकहरूसँग तेल आपूर्ति बढाउने क्षमता छ, जसले मूल्य घटाउन मद्दत गर्नेछ।

    विश्व अर्थतन्त्रका लागि यसको अर्थ

    ऊर्जा कतिसम्म महँगो हुन सक्छ र यसको व्यापक प्रभाव इजरायल र इरान बीचको द्वन्द्वमा अब के हुन्छ भन्ने कुरामा निर्भर गर्ने विज्ञहरु बताउँछन्। एसेट म्यानेजर एलियान्जका प्रमुख आर्थिक सल्लाहकार मोहम्मद एल–एरियनले खराब समयमा विश्वव्यापी अर्थतन्त्रलाई नराम्रो झट्का दिने क्षमता यसमा निर्भर गर्ने बताए ।

    क्यापिटल इकोनोमिक्सले तेलको मूल्य प्रतिब्यारेल ४१०० भन्दा बढी भयो भने तीव्र गतिमा बढिरहेको अर्थतन्त्रहरूको मुद्रास्फीति १% ले बढ्न सक्ने अनुमान गरेको छ, यसले गर्दा ब्याजदर घटाउने आशा गरिएका केन्द्रीय बैंकहरुका लागि काम कठिन हुनेछ।

    प्रतिक्रिया दिनुहोस्

    images