images
images
  • इजरायल–इरानबीच आक्रमण जारी, २३८ जनाको ज्यान गइसक्यो

    काठमाडौं । इजरायल र इरानबीच घातक आक्रमण आइतबार रातिसम्म जारी रहेको छ । इरानले आइतबार साँझ इजरायलमा फेरि नयाँ मिसाइल हमला गरेको छ, जसमा तटीय सहर हाइफामा विस्फोट भएको छ ।

    अन्तर्राष्ट्रियस्तरबाट कूटनीति र तनाव कम गर्न आग्रह गरिँदै गर्दा इजरायले इरानभर रहेका सैनिक लक्ष्यहरूमा फेरि हमला सुरु गरेको बताएको छ ।

    इजरायली सेनाका प्रमुख जनरल एयाल जामिरले इरानविरुद्ध आफ्नो अभियान अझै बढाउने र आउने वर्षहरूका लागि सुरक्षा बलियो बनाउने प्रतिबद्धता जनाएका छन् ।

    नयाँ मिसाइल हमला
    इरानी सरकारनियन्त्रित संचारमाध्यमले आइतबार राति इजरायलमा नयाँ मिसाइल र ड्रोनमार्फत हमला गरेको जनाएका छन् । यो अभियानलाई ‘अपरेसन ट्रु प्रोमिस–३’को नाम दिइएको छ । अर्ध–सरकारी इरानी मिडिया मेहर न्यूजले सयौँ ब्यालिस्टिक मिसाइलले इजरायली आवासीय भवन र पूर्वाधारलक्षित गरिएको बताएको छ ।

    सैनिक इलाका छाड्ने चेतावनी
    इरानी सेनाले इजरायली नागरिकहरूलाई सुरक्षाको लागि इजरायली सैनिक र वैज्ञानिक साइटनजिकैका क्षेत्रबाट हट्न चेतावनी दिएको छ ।

    केही घण्टाअगाडि इजरायली सेनाले पनि इरानी नागरिकहरूलाई हतियार उत्पादन केन्द्रहरूनजिक बसोबास गर्नेहरूलाई सावधान गराएको थियो । यसले थप हमला हुनसक्ने संकेत दिएको छ ।

    इरानी सैनिक लक्ष्यहरूमा हमला
    इजरायलले पश्चिम र मध्य इरानमा सतहबाट सतह मिसाइलहरू लक्षित गरी धेरै हमला गरेको छ । इजरायली सेनाले आइतबार तेहरानमा पनि सैनिक लक्ष्यहरूमा हमला गरेको दाबी गरेको छ ।

    इजरायली सेनाले आइतबार इरानमा धेरै हतियार उत्पादन केन्द्रहरूलाई लक्ष्य बनाएर ठूलो परिमाणमा हमला गरेको दाबी गरेको छ ।

    इजरायल डिफेन्स फोर्स (आईडीएफ)का अनुसार, यो हमलाले तेहरानस्थित कुद्स फोर्स, इस्लामिक रिभोल्युसनरी गाड्र्स कप्र्स (आईआरजीसी) र इरानी सेनासँग सम्बन्धित पूर्वाधारहरू ध्वस्त भएको छ ।

    इरानी उपविदेश मन्त्री सईद खातिबजादेले राजधानीको विदेश मन्त्रालय भवनमा पनि हमला भएको र धेरै घाइते भएको बताएका छन् ।

    इरानी रिभोल्युसनरी गार्डको गुप्तचर प्रमुख मोहम्मद काजिमी र उनका उपप्रमुख जनरल हसन मोहक्किक तेहरानमा इजरायली हमलामा मारिएका छन् ।

    ट्रम्पले गरे खामेनीको हत्या योजना अस्वीकार
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली योजना इरानी सर्वोच्च नेता अयातुल्ला अली खामेनीलाई मार्ने योजना अस्वीकार गरेको दुई अमेरिकी अधिकारीले सीएनएनलाई बताएका छन् ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनका प्रवक्ताले यस्तो योजनाको खबरलाई झुटो भनेका छन् ।

    मृत्यु हुनेको संख्या बढ्दै
    इरानी स्वास्थ्य मन्त्रालयका अनुसार दुवै देशबीच द्वन्द्व सुरु भएदेखि इरानमा कम्तिमा २२४ जना मारिएका छन् । एक हजार २७७ जना अस्पतालमा उपचारमा रहेको सीएनएनले जनाएको छ । यसमा धेरैजसो सर्वसाधारण नागरिक रहेको बताइएको छ । इजरायलमा कम्तीमा १४ जना मारिएका छन् । ३८० जना घाइते भएका छन् ।

    इजरायलका धेरै क्षेत्रमा हमला
    इजरायली अधिकारीहरूका अनुसार आइतबार राति इरानी हमलामा उत्तरी सहर हाइफाको भवन र दक्षिणी क्षेत्र जाभडिएलमा पनि हमला भएको छ ।

    इजरायली खोज तथा उद्दार संस्था जाकाको अनुसार, उत्तरी इजरायली सहर हाइफाको एक भवनमा इरानबाट थप मिसाइल प्रक्षेपण गरिएको थियो ।

    रोयटर्सको क्यामेराले सहरमा एक विस्फोट कैद गरेको छ, जहाँ हाइफाको आकासमा धुवाँ उठिरहेको देखिन्छ ।

    इजरायली प्रहरीले जाभडिएल आवासीय क्षेत्र र नजिकैका खुला क्षेत्रहरूमा मिसाइल अवशेष खसेको बताएको छ । इजरायली सेनाले एउटा सिनेगोग क्षतिग्रस्त भएको दाबी गरेको छ ।

    आपतकालीन सेवाहरूले बताए अनुसार, इरानबाट प्रहार गरिएको मिसाइलले दुईजनालाई चोटहरू लागेको छ । उनीहरूलाई अस्पताल पुर्‍याइएको छ ।

    तनाव कम गर्न विश्व नेताहरूको आह्वान
    विश्व नेताहरूले दुवै देशलाई तनाव कम गर्न आह्वान गरेका छन् । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनसहित धेरै विश्व नेताहरूले इजरायल र इरानबीचको तनाव कम गर्न कूटनीतिक वार्ता गर्न आह्वान गरेका छन् ।

    टर्कीको राज्यनियन्त्रि समाचार एजेन्सी अनादोलुले टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्दोगनले इजरायल र इरानले सम्झौता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वानलाई स्वागत गरे ।

    अनादोलुकाले युद्धका कारण दुवै पक्षलाई पर्ने अकल्पनीय जनधनको क्षतिको बारेमा पनि कुरा गर्दै तनाव कम गर्ने आवश्यकतामा जोड दिएका छन् ।

    युरोपियन युनियनकी अध्यक्ष उर्सुला भन डर लेयेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग कुराकानी पछि युरोपको शान्ति, स्थिरता र तनाव कम गर्ने कूटनीतिक प्रयासहरूप्रतिको प्रतिबद्धता दोहोर्‍याएकी छन् । सीएनएन

    प्रतिक्रिया दिनुहोस्
    images
    images