images
images
  • आक्रामक बजार विस्तारमा टाटा मोटर्स, गाडी उत्पादनमा साढे तीन खर्ब लगानी गर्ने बृहत् योजना

    काठमाडौं । भारतको टाटा मोटर्स लिमिटेडले गाडी उत्पादनमा विविधिकरण ल्याउन बृहत् लगानी योजना सार्वजनिक गरेको छ । टाटाले आगामी पाँच वर्षमा यात्रुवाहक सवारी साधन व्यवसायमा तीन खर्ब ५० अर्ब भारतीय रूपैयाँ थप लगानी गर्ने भएको छ ।

    यो परियोजनामा विद्युतीय सवारी साधन शाखा पनि समावेश गरिएको टाटाले जनाएको छ । टाटाले संयुक्त परियोजनाका लागि तीन खर्ब ३० अर्बदेखि तीन खर्ब ५० अर्ब भारु लगानी हुने अनुमान सार्वजनिक गरेको हो ।

    यो लगानी टाटा समूह कम्पनीका उत्पादनहरू विस्तार, अर्को पुस्ताका प्रविधिहरू एकीकृत र नाफा थप सुधार हुने बताइएको छ ।

    थप लगानी योजनामा आर्थिक वर्ष २०२५ र आर्थिक वर्ष २०३० बीच विशेष गरी इलेक्ट्रिक भेहिकल (ईभी) व्यवसायको लागि छुट्याइएको एक खर्ब ६० अर्बदेखि एक खर्ब ८० अर्ब भारु लगानी समावेश भएको टाटा मोटर्सले जनाएको छ ।

    दशकको अन्त्यसम्ममा ३० मोडेलहरू लन्च गर्ने लक्ष्य राखिएको छ । कम्पनीले आर्थिक वर्ष २०२७ सम्ममा १६ प्रतिशत प्राइभेट भेहिकल बजार हिस्सा हासिल गर्ने लक्ष्य राखेको छ । यस्तै सन् २०३० सम्ममा १८ देखि २० प्रतिशतसम्म बढ्नेछ ।

    जसमा ईभी गाडी बिक्रीको एक महत्वपूर्ण हिस्सा ओगटेको टाटाले जनाएको छ ।

    लगानीकर्ता दिवसको प्रस्तुतीकरणमा टाटा मोटर्सले आगामी पाँच वर्षभित्र बजारमा ल्याउने अपेक्षा गरिएका विद्युतीय सवारी साधनका साथै नयाँ मोडेलहरूको विकासमा यो रकम लगानी गर्ने योजना बनाएको जानकारी गराएको छ ।

    यो विशाल लगानी रणनीतिको साथ कार निर्माताले बढ्दो प्रतिस्पर्धा र विद्युतीय कारहरू अपनाउने बढ्दो दबाबको बीचमा मुलुकको शीर्ष विद्युतीय यात्रुवाहक सवारी निर्माताको रूपमा आफ्नो स्थान सुदृढ गर्ने लक्ष्य राखेको छ ।

    टाटा मोटर्सले हाल भारतीय इलेक्ट्रिक यात्रुवाहक सवारी साधन बजारमा टियागो, टिगोर, पञ्च, नेक्सन र कर्भ ईभीका साथै भर्खरै लन्च गरिएको ह्यारियर ईभीजस्ता मोडेलहरूको साथ ठूलो हिस्सा ओगटेको छ ।

    यसबाहेक, अटोमेकरले केही लोकप्रिय एसयूभीहरू उत्पादन तथा बिक्री गर्दै आएको छ । जसले भारतमा उपयोगिता सवारी साधनहरूको द्रुत रूपमा बढ्दो मागको बीचमा ब्रान्डको वृद्धिलाई प्रोत्साहित गरिरहेको छ ।
    यी एसयुभीहरूमा नेक्सन, पञ्च, ह्यारियर र सफारी ब्रान्डका गाडीहरु समावेश छन् ।

    यसको ईभी र आइसीईको रूपमा कम्पनीले सिएरालाई भारतीय बजारमा पनि ल्याउने योजना बनाइरहेको जनाएको छ ।

    समाचार संस्था रोयटर्सका अनुसार आफ्नो लगानीकर्ता दिवस प्रस्तुतीकरणमा टाटा मोटर्सले कम्पनीको प्राइभेट भेहिकल उत्पादन पोर्टफोलियोलाई आठ मोडेलबाट १५ मोडेलमा दोब्बर बनाउने योजना खुलासा गरेको छ ।
    यो लक्ष्य थप विद्युतीय सवारी साधन र सीएनजी कारहरू लन्च गरेर हासिल गरिने बताइएको छ ।

    यसबाहेक, सवारी साधनहरूको लागि प्रविधि सुविधा वृद्धि गरिनेछ, रिपोर्टले दाबी गरेको छ । आगामी पाँच वर्षको लागि लगानी योजना खुलासा गरे पनि टाटा मोटर्सले चालू आर्थिक वर्षको लागि आफ्नो लगानी योजना सार्वजनिक गरेको छैन । आर्थिक वर्ष आउँदो मार्च २०२६ मा समाप्त हुनेछ ।

    विश्वको तेस्रो ठूलो यात्रुवाहक सवारीसाधन उत्पादक भारतले सन् २०२७ देखि कडा कार्वन उत्सर्जन मापदण्डहरू लागु गर्ने योजना बनाइरहेको बेला टाटा मोटर्सको यो कदम आएको हो । साथै, भारत सरकारले २०३० सम्ममा देशको कुल कार बिक्रीको ३० प्रतिशत विद्युतीय सवारी साधनहरू ओगट्ने लक्ष्य राखेको छ ।

    भारतीय बजारमा तीव्र प्रतिस्पर्धाले प्रतिद्वन्द्वी महिन्द्रा एन्ड महिन्द्राका साथै एमजी मोटरले विन्डसर मोडेलले टाटाको ईभी प्रभुत्वलाई पनि चुनौती दिएको छ । विशाल लगानी योजना सार्वजनिक गरेको टाटा मोटर्सको नाफामा भने भारी गिरावट आएको छ ।

    टाटाले चौथो त्रैमासमा आफ्नो एकीकृत (कन्सोलिडेटड) खुद नाफामा ५१.३४ प्रतिशत गिरावट आएको जानकारी गराएको छ । टाटाको खुद नाफा घटेर ८४ अर्ब ७० करोड भारुमा सीमित भएको छ । अघिल्लो वर्ष टाटा मोटर्सको खुद नाफा एक खर्ब ७४ अर्ब सात करोड भारु थियो ।

    एक वर्षको बीचमा टाटाको खुद नाफा ८९ अर्ब ३७ करोड भारु घटेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । नाफा घटे पनि टाटाले प्रतिसेयर ६ भारु अन्तिम लाभांश सिफारिस गरेको छ । बाह्य प्रतिकूल परिस्थितिहरूको बाबजुद टाटा मोटर्सले २०२५ मा आफ्नो बलियो प्रदर्शनलाई कायम राखेको जनाएको छ ।

    टाटाले एक वर्षमा ९९ हजार ६ सय कमर्सियल भेहिकल एकाई बिक्री गरेको छ । यस्तै, टाटा प्यासेन्जर भेहिकल एक लाख ४७ हजार एकाई बिक्री गरेको छ । ज्यागुअर, ल्यान्ड रोभर गाडी बिक्रीबाट टाटाले सात अर्ब ७० करोड पाउन्ड आम्दानी गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images