images
images
  • हाजिरी जमानीमा रिहा भएयता फरार मिश्र र राणालाई पुनः पक्राउ गर्ने तयारीमा प्रहरी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री एवं संघीय सांसद धवलशमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी गर्ने प्रक्रिया काठमाडौं जिल्ला अदालतले अघि बढाएको छ ।

    अदालत स्रोतका अनुसार सम्भवतः आजै उनीहरुविरुद्ध औपचारिक रूपमा पक्राउ पुर्जी जारी हुने सम्भावना छ ।

    चैत १५ गते राजधानीको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शन हिंसात्मक भएपछि सो घटनासँग सम्बन्धित अभियोगमा मिश्र र राणालाई पक्राउ गरिएको थियो ।

    उनीहरू हाजिरी जमानीमा रिहा भए पनि त्यसयता सम्पर्कविहीन छन् र अदालतमा उपस्थित भएका छैनन् ।

    उनीहरू अनुसन्धान अधिकृतसमक्ष उपस्थित नभएपछि अदालतले उनीहरूलाई जिम्मा लिएका तीन जना कानुन व्यवसायी र एक जना स्वकीय सचिवलाई जनही २५–२५ हजार रुपैयाँ जरिवाना तिराएको थियो ।

    बिहीबार सार्वजनिक गरिएको राप्रपाका नेता दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक आदेशको पूर्ण पाठमा भने मिश्र र राणासम्बन्धी स्पष्ट विवरण उल्लेख गरिएको छैन ।

    तर, अदालतले अभियोग दर्ता भएको दिन नै उपस्थित प्रतिवादीहरूलाई इजलासमा पेस गर्न र अनुपस्थित तथा फरार प्रतिवादीहरूका हकमा कानुनबमोजिम पक्राउ पुर्जी जारी गर्न आदेश दिएको स्रोतको भनाइ छ ।

    स्रोतका अनुसार हाल मिसिल थुनछेक र बयानको प्रक्रिया मै व्यस्त भएकाले पुर्जी जारीको कार्य केही ढिला भएको हो । तर, सम्बन्धित फाँटले आवश्यक प्रक्रिया सुरु गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images