इजरेलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरेली डिफेन्स फोर्सले बताएको छ भने इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका आवाजहरू सुनिएका छन्।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले उक्त हमला ‘अपरेशन राइजिङ लाइअन’ नाम दिइएको सैन्य कार्वाही को एक भाग भएको भन्दै इरान इजरेलको “अस्तित्वको लागि” खतरा भएको बताएका छन्।
उनले “आवश्यकता रहेसम्म आक्रमण जारी राख्ने” बताउँदै इजरेलको हमलाले “इरानको परमाणु प्रशोधन कार्यक्रमको मुटुमा नै प्रहार गरेको” पनि बताए।
इजरेलले जबाफी हमलाको अपेक्षा गर्दै देशमा संकटकालको घोषणा गरेको छ।
इरानको रिभोलुशनरी गार्डस्को मुख्यालयमा इजरेली हमला भएको इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ। स्थानीय मिडियाले पनि त्यहाँ आगो लागेको र धुवाँ आइरहेको जनाएका छन्।
इजरेली हमलामा इरानको रिभोलुशनरी गार्डस्का प्रमुख होसेन सलामी मारिएको पनि इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ।
इस्लामिक रिभोलुशनरी गार्डस् इरानको सशस्त्र सेनाको एक भाग हो र त्यो देशको सबैभन्दा शक्तिशाली संगठनहरू मध्येमा पर्दछ।
इजरेली हमलामा मारिएका केही वरिष्ठ नेताहरू मध्येमा उनी पनि एक छन्। परमाणु उर्जा संगठनका भूतपूर्व प्रमुख फेरेडुन अब्बासी पनि मारिएको बताइएको छ।


विश्व खबर 


















