काठमाडौं – भारतको गुजरातमा दुर्घटनामा परेको एयर इन्डियाको बोइङ विमान ‘एआई १७१’ का पाइलट क्याप्टेन सुमित सभरवालले दुर्घटनाको केही क्षणअघि आपतकालीन संकेत दिएका थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार सभरवालले विमान उडाउँदा एयर ट्राफिक कन्ट्रोल (एटीसी) सँग सम्पर्क गरी ‘मे डे’ संकेत पठाएका थिए। तर, उनले ‘मे डे’ संकेत गरेलगत्तै एटीसीले थप जानकारी पाउन सकेन।
विमानमा २३० जना यात्रु र १२ जना चालकदलका सदस्य गरी कुल २४२ जना सवार थिए।
‘मे डे’ संकेत अत्यन्त गम्भीर आपतकालीन अवस्थाका लागि प्रयोग गरिने अन्तर्राष्ट्रिय संकेत हो। सामान्यतया, जहाजको इन्जिन फेल भएको, आगलागी भएको, अपहरणमा परेको वा अन्य गम्भीर संकट उत्पन्न भएको खण्डमा पाइलटले तीन पटक ‘मे डे’ भन्दै संकेत गर्छन्।
यस्तो संकेत आएपछि आकाशमा रहेका अन्य विमानहरूलाई सतर्क गराउने र नजिकको विमानस्थलमा दमकल, एम्बुलेन्स र उद्धार टोलीलाई तयारी अवस्थामा राख्ने प्रचलन हुन्छ।
हाल विमान दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको छ।























