images
images
  • रौतहटमा सवारी ठक्करबाट पैदलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले अवरुद्ध पारेको पूर्व–पश्चिम राजमार्ग ६ घण्टापछि खुल्यो

    रौतहट – रौतहटको चन्द्रपुर–१ स्थित पूर्वपश्चिम राजमार्गको बागमती खण्डमा सवारी ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएपछि स्थानीयले आक्रोशित हुँदै राजमार्ग अवरुद्ध गरे । झन्डै ६ घण्टासम्म ठप्प भएको राजमार्ग प्रहरीले ठक्कर दिने सवारी २४ घण्टाभित्र पत्ता लगाई कारबाही अघि बढाउने सहमति गरेपछि मात्र खुलेको हो ।

    मंगलपुरका ३५ वर्षीय बुद्ध जिम्बाको बिहीबार बिहान सवारी ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो । घरबाट बिहान करिब ४–५ बजेतिर निस्किएको अवस्थामा अज्ञात सवारीले उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिएर फरार सवारीको पहिचान र खोजी जारी रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले जानकारी दिए ।

    ‘२४ घण्टाभित्र ठक्कर दिने सवारी पत्ता लगाएर कारबाही गर्ने सहमति भएपछि अवरुद्ध सडक खुलाइएको हो,’ डीएसपी राईले भने, ‘एक शंकास्पद सवारी नियन्त्रणमा लिइएको छ र अनुसन्धान अघि बढाइएको छ ।’

    घटनापछि स्थानीयले आक्रोशित हुँदै राजमार्गमा चक्काजाम गरेका थिए । यसबीच ट्राफिक प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीका अनुसार ठप्प सडकका कारण ठूलो संख्यामा सवारी साधनहरु बीच बाटोमै अलपत्र परेका थिए ।

    प्रहरीले सीसी क्यामेरा फुटेजमार्फत ठक्कर दिने सवारी पत्ता लगाउने प्रयास गरिरहेको छ । सहमति पश्चात मृतकका आफन्तले शव पोस्टमार्टमका लागि अस्पतालमा पठाएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images