काठमाडौं । भिजिट भिसा प्रकरणमा जेठ १३ गतेदेखि प्रतिपक्षी दलहरूले गर्दै आएको संसद् अवरोध हटाउन मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच छलफल हुने भएको छ ।
प्रतिनिधिसभाको आज (बिहीबार) अपराह्न ३ बजेका लागि बोलाइएको बैठकअघि संसद् भवन नयाँबानेश्वरमा तीन दलबीच २ बजे छलफल तय भएको कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार गतिरोध अन्त्यका लागि सहमति खोज्ने उद्देश्यले बैठक हुन लागेको हो ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं फर्किएपछि पहिला प्रतिपक्षी दलहरूको आन्तरिक बैठक बस्ने र त्यसपछि कांग्रेस र एमालेसँग छलफल गर्ने तयारी भएको बताए ।
जेठ १३ गते त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसा सेटिङ प्रकरणमा अख्तियारले प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन् ।
उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र घटनाको छानबिन गर्न संसदीय समिति वा न्यायिक आयोग गठनको माग गर्दै आएका छन् । तर सत्तापक्ष भने अख्तियारले अनुसन्धान गरिरहेको विषयमा छुट्टै समिति आवश्यक नरहेको र गृहमन्त्री अनुसन्धानको दायरामा नरहेकाले राजीनामाको सवाल पनि उठ्न नपर्ने बताउँदै आएको छ ।
बैठकमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने बोलाइएको छैन ।























