काठमाडौं । संसद्को गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सत्ता पक्षको जवाफ कुरिरहेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता देखिएपछि राजीनामाको माग गर्दै आएको माओवादी केन्द्र हाल भने उच्चस्तरीय छानबिन समितिको गठनमा जोड दिँदै लचिलो देखिएको छ ।
मंगलबार माओवादी केन्द्रले भिजिट भिसा प्रकरणसम्बन्धी विवादबारे छानबिन गर्न उच्चस्तरीय समिति गठनको प्रस्ताव सरकारलाई बुझाएको थियो ।
तर, सत्ता पक्षबाट कुनै प्रतिक्रिया नआएकाले बिहीबारको प्रतिनिधिसभा बैठक अवरुद्ध हुनसक्ने संकेत माओवादी प्रमुख सचेतक हितराज पाण्डेले दिएका छन् ।
माओवादी केन्द्रसहितका विपक्षी दलहरूले २०६४ साल यता भिजिट भिसा प्रकरणको विस्तृत छानबिनको माग गर्दै जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् ।
यसबीच संसद्मा चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि भिजिट भिसा विवादसम्बन्धी आफ्ना पाँच बुँदे प्रस्ताव सरकार समक्ष पेश गरिसकेको छ ।
तर, उक्त प्रस्तावबारे कुनै औपचारिक छलफल नहुने एमाले सचिव योगेश भट्टराईले बताएका छन् ।
सरकारको जवाफ र विपक्षी दलहरूको छलफलपछि मात्र संसद् सञ्चालन हुने वा नहुने टुंगो लाग्ने देखिन्छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुस्ताङ भ्रमणबाट फर्किएपछि विपक्षी दलहरूसँग छलफल गरेर आगामी कदम तय गरिने पाण्डेले बताए ।























