images
images
  • समाचारकै कारण बलजफ्ती कारबाहीको प्रयास : पत्रकार दिलभूषण पाठकको गुनासो

    काठमाडौं – पत्रकार दिलभूषण पाठकले आफूले प्रसारण गरेका समाचार सामग्रीकै आधारमा सरकारले आफूविरुद्ध बलपूर्वक कारबाही गर्न खोजेको आरोप लगाएका छन्।

    प्रहरीको केन्द्रीय साइबर ब्युरोमा परेको उजुरीका आधारमा अदालतबाट पक्राउ अनुमति लिइएको भए पनि त्यसबारे कुनै औपचारिक जानकारी नदिइएको उनले बताएका छन्।

    पाठकले यस घटनाप्रति आपत्ति जनाउँदै प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघलाई जानकारी तथा सहयोगको अपेक्षासहित पत्र लेखेका छन्।

    पत्रमा उनले प्रसारण सामग्रीप्रति असहमति, गुनासो वा फरक मत भए कानुनी प्रक्रिया अनुसार सुरुमा पत्रकार वा मिडियासँग सम्पर्क गर्नुपर्ने, त्यसपछि मात्र प्रेस काउन्सिलमा उजुरी दिन सकिने वैधानिक बाटो रहेको बताएका छन्। तर यस प्रक्रियालाई छोडेर सिधै विद्युतीय अपराध ऐनमार्फत फौजदारी कारबाहीको प्रयास हुनु आपत्तिजनक भएको उनले उल्लेख गरेका छन्।

    ‘फौजदारी कानुनमार्फत कारबाही गर्न खोजिएको घटनाले गम्भीर आशंका उत्पन्न गराएको छ। अझ उजुरी र आरोपबारे कुनै जानकारी नदिई एकैपटक बलपूर्वक पक्राउ गर्न खोजिएको घटनाले झनै धेरै प्रश्न जन्माएको छ,’ पाठकले पत्रमा उल्लेख गरेका छन्।

    उनले सञ्चार स्वतन्त्रता र प्रेस मर्यादाको संरक्षणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक पहल गर्न पनि आग्रह गरेका छन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images