काठमाडौं-सत्तारूढ नेकपा (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको पाँच बुँदे प्रस्तावमा छलफल नै हुन नसक्ने दाबी गरेका छन् ।
आज (बुधबार) संसद् भवन बाहिर हरूसँग कुरा गर्दै उनले सत्तारूढ दल एमाले र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)बीच दुई बुँदे सहमति कायम भएको उल्लेख गर्दै रास्वपाको प्रस्ताव उक्त सहमतिभन्दा बाहिर भएकाले स्वीकार गर्न नसकिने बताए ।
‘रास्वपाले पठाएको प्रस्तावमाथि छलफल गर्न सकिँदैन,’ भट्टराईले भने, ‘हामी माओवादी केन्द्रले तयार पारेको ड्राफ्टमा सहमत छौँ । संसद् अवरुद्ध भए पनि भोलिसम्म प्रतिपक्षले सहमति नजनाए नियमावलीअनुसार संसद् सञ्चालन हुन्छ ।’
उनले विपक्षी दलहरूले छलफलका लागि भोलिसम्मको समय माग गरेकाले बैठक अपराह्न ३ बजे राखिएको पनि जानकारी दिए ।
‘इतिहासमै विपक्षीको नाराबाजीबीच पनि संसद् चलिरहको उदाहरण छ,’ भट्टराईले भने, ‘यसमा सभामुखको भूमिकाले निर्णायक हुन्छ ।’
उनले माओवादी केन्द्रले पनि रास्वपाको प्रस्तावमा असहमति जनाएको दाबी गरेका छन् । तर, विपक्षी गठबन्धनको बुधबार बिहान बसेको बैठकले भने रास्वपाको पाँच बुँदे प्रस्तावलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।
यसबीच सत्ता गठबन्धनभित्रै सहमति नजुटेको संकेत देखिन थालेको छ भने संसद् अवरुद्ध अवस्थाबाट कहिले बाहिरिन्छ भन्ने अनिश्चित छ ।























