images
images
  • जनताको पैसा तरुण दलको भवनमा होइन, विद्यालयको छानामा जाओस् : विवेकशील साझा (विज्ञप्तिसहित)

    काठमाडौं । सरकारद्वारा सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको भवन निर्माणका लागि काठमाडौंको रवी भवनमा ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएपछि विवेकशील साझा युवा संगठनले कडा विरोध जनाएको छ ।

    संगठनका संयोजक युजन राजभण्डारीद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारको उक्त निर्णयलाई घोर आपत्तिजनक, अनैतिक र जनविरोधी ठहर गरिएको छ ।

    करदाताको रगत–पसिनाबाट संकलित राजस्वलाई कुनै राजनीतिक दलको भ्रातृ संगठनको संरचना निर्माणमा खर्च गर्नु लोकतान्त्रिक मूल्य र नैतिकताको चरम अपमान भएको विज्ञप्तिमा उल्लेख छ ।

    विवेकशील साझा युवा संगठनले राष्ट्रिय बजेटलाई दलीय संस्थाको भवन निर्माणमा प्रयोग गर्नु राज्यको स्रोतको खुलेआम लुट र करदातामाथिको ठगी भएको आरोप लगाएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘मुलुक अहिले बेरोजगारी, महँगी, स्वास्थ्य संकट, शिक्षामा असमानता र विपद् व्यवस्थापनजस्ता गम्भीर समस्याबाट ग्रस्त छ । स्कुलका कैयौं भवनहरू अझै पनि जीर्ण, कच्ची संरचना वा खुला आकाशमुनि सञ्चालन भइरहेका छन् ।’

    यस्तो अवस्थामा करदाताको पैसा एउटा दल विशेषका युवासंघको भवन निर्माणमा खर्च गर्नु लज्जास्पद, गैरजिम्मेवार र जनविरोधी भएको भन्दै संगठनले उक्त निर्णय तुरुन्त खारेज गर्न सरकारसँग माग गरेको छ । साथै, सो रकमलाई शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र विपद् व्यवस्थापनजस्ता जनहितका क्षेत्रमा पुनः विनियोजन गर्नुपर्ने संगठनको आग्रह छ ।

    संगठनले नागरिक समाज, स्वतन्त्र सञ्चारमाध्यम, संवैधानिक निकाय र सबै सचेत नागरिकलाई सार्वजनिक स्रोतको दुरुपयोगविरुद्ध आवाज उठाउन आह्वान गरेको छ । ‘सार्वजनिक सम्पत्तिको यस्तो दुरुपयोग केवल अनैतिक होइन, यो करदाताको पैसामाथिको सोझै लुटपाट र विश्वासमाथिको धोका हो,’ विज्ञप्तिमा उल्लेख छ ।

    विवेकशील साझा युवा संगठनले सरकारलाई यो निर्णय तत्काल खारेज गरी जनताको हित र करदाताको विश्वासलाई सर्वोपरि राख्न आग्रह गर्दै आफ्नो विरोध आन्दोलनका अन्य विकल्पहरू खुला राखेको संकेतसमेत दिएको छ ।

    आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सहरी विकास मन्त्रालयले नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको केन्द्रीय कार्यालय भवन निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन गरेपछि चौतर्फी आलोचना भएको छ ।

    सरकारी बजेटमार्फत कुनै राजनीतिक संगठनको संरचना निर्माण गरिनु गैरकानुनी र असंवैधानिक भएको भन्दै आलोचकहरूले सहरी विकास मन्त्री प्रकाशमान सिंहमाथि सत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

    तरुण दल नेपाली कांग्रेसको युवा संगठन हो । यसका अधिकांश पदाधिकारी स्वयं सत्तारूढ दलका सदस्यहरू हुन् । यही सन्दर्भमा मन्त्री प्रकाशमान सिंहले आफ्नो पार्टीको निकट संगठनलाई सरकारी ढुकुटीबाट करोडौं रकम विनियोजन गरिदिनुले सत्ता र स्रोतको दुरुपयोग भएको भन्दै विभिन्न कानुनी तथा नागरिक समाजका प्रतिनिधिहरूले आपत्ति जनाएका छन् ।

    सहरी विकास मन्त्रालयको बजेट कार्यक्रम अनुसार तरुण दल केन्द्रीय कार्यालय भवन निर्माण शीर्षकमा ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो रकम काठमाडौंको प्रदर्शनी मार्गस्थित तरुण दलको केन्द्रीय कार्यालयको निर्माणका लागि खर्च गरिने उल्लेख छ ।

    सरकारी बजेटमार्फत कुनै राजनीतिक दल वा संगठनको आफ्नै पार्टी संरचना निर्माण गरिनु संविधानको धारा १७ र ३५ अन्तर्गतको समान पहुँच र राज्यको धर्मनिरपेक्षताको मर्मविपरीत रहेको विज्ञहरू बताउँछन् ।

    पूर्वमहान्यायाधिवक्ता रमेश ढुंगेल भन्छन्, ‘कुनै पनि पार्टीको संगठन निर्माणका लागि राज्यको कोष प्रयोग गर्नु नितिगत मात्र होइन, कानुनी हिसाबले पनि आपत्तिजनक कुरा हो ।’

    कांग्रेसभित्रै पनि मन्त्री सिंहको निर्णयप्रति असन्तुष्टि देखिएको छ । पार्टीभित्रका केही नेताहरूले सत्ता र सरकारको पहुँचबाट संगठनलाई फाइदा पु¥याउने प्रयासले पार्टीको नैतिकता कमजोर बनाउने बताएका छन् ।

    एक नेताले नाम नखुलाउने सर्तमा भने, ‘सरकारी स्रोत पार्टी विशेषको लागि प्रयोग गर्दा त्यसले हामीलाई नै उल्टो असर पु¥याउँछ। यो कार्य तत्काल सच्याइनु पर्छ ।’

    प्रतिपक्षी दलहरू यस प्रकरणलाई लोकतान्त्रिक व्यवस्था र सुशासनको खिल्ली को संज्ञा दिँदै सरकारको आलोचना गरेका छन् ।

    हेर्नुहोस् विज्ञप्ति :

    505803533 1277107290439262 4534452671978115667 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images