images
images
  • पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं – युट्युबको चर्चित टक शो ‘टफ टक’ मार्फत नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा परराष्ट्र मन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवालाई हिल्टन होटेल खरिदमा जोडेर रिपोर्टिङ गरेपछि पत्रकार दिलभुषण पाठकविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।

    प्रहरीको केन्द्रीय साइबर ब्युरोको अनुरोधमा काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराधको अभियोगमा पत्रकार पाठकलाई पक्राउ गर्न अनुमति दिएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ।

    प्रहरी स्रोतका अनुसार उजुरी परेपछि साइबर ब्युरोले अदालतसँग अनुमति मागेको थियो। अदालतले ब्युरोको अनुरोधलाई स्वीकृत गर्दै पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। प्रहरीले भने, “पाठकविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा पुर्जी जारी भएको हो, थप विषय अनुसन्धानकै क्रममा छन्।”

    करिब तीन हप्ताअघि दिलभुषण पाठकले आफ्नो युट्युब च्यानलबाट ‘टफ एक्स्प्लेनर’ शीर्षकमा एक रिपोर्ट सार्वजनिक गरेका थिए। सो रिपोर्टमा जयवीर देउवाले काठमाडौं नक्सालस्थित पाँचतारे हिल्टन होटेलको सेयर खरिद गरेको र सो कार्यमा शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवाल तथा व्यापारी दीपक भट्टको संलग्नता रहेको आरोप लगाइएको थियो।

    त्यसै सामग्रीमा जयवीरले दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म रियल स्टेट व्यवसाय फैलाएको र बुबा प्रधानमन्त्री हुँदा डायपर र सेनिटरी प्याडको कर दर घटाइएको विषय समेत उठाइएको थियो। १७ तले हिल्टन होटेलको नक्सा स्वीकृतिबारे विवादबीच देउवा परिवारलाई प्रत्यक्ष जोडेर समाचार बनाइएको थियो।

    यही रिपोर्टपछि शंकर ग्रुपले वैशाख २१ गते प्रेस विज्ञप्ति जारी गर्दै पाठकको सामग्रीलाई “भ्रामक” भनेको थियो। विज्ञप्तिमा राजनीतिक व्यक्तित्व र निजी व्यवसायलाई अनावश्यक रूपमा जोडेर तथ्यहीन समाचार बनाएको भन्दै त्यसले व्यापारिक प्रतिष्ठा र राजनीतिक छविमा गम्भीर असर पारेको आरोप लगाइएको थियो। ग्रुपले कानुनी प्रक्रिया अघि बढाउने चेतावनी समेत दिएको थियो।

    अहिलेसम्म पाठक स्वयंले पक्राउ पुर्जीबारे सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। तर घटनाले प्रेस स्वतन्त्रता र डिजिटल मिडिया रिपोर्टिङको सीमाना बारे पुनः बहस चर्किने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images