काठमाडौं । झापा निवासी आहिस्ता कार्की अनेरास्ववियुको नयाँ नेतृत्वका लागि दाबेदार बनेकी छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीकी जेठी छोरी आहिस्ताले उपत्यका विशेष बागमती प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन् ।
त्रिवि ल क्याम्पसमा बीएएलएलबी आठौं सेमेस्टरमा अध्ययनरत उनी हाल सोही क्याम्पसकी स्ववियू सदस्य पनि हुन् ।
सानैदेखि राजनीतिक माहोलमा हुर्किएकी आहिस्ता आफ्नै चेतनाले राजनीति रोजेको बताउँछिन् । उनका ठूला बाबा दीपक कार्की संविधान सभा सदस्य थिए ।
विद्यार्थी संगठनप्रति रहेको नकारात्मक छवि हटाउँदै शैक्षिक रचनात्मक गतिविधिबाट संगठनलाई अघि बढाउने उद्देश्यले उम्मेदवारी दिएको उनले बताइन् ।
बुवाको हैसियतकै कारण राजनीतिमा आएको भन्ने बुझाइ गलत भएको उनले स्पष्ट पार्दै प्रेरणा भने बुवाको इमानदारिता र जनप्रतिबद्धता भएको बताइन् ।
बुवाबाट राजनीतिमा आउन कुनै दबाब नभएको र आफूले रोजेको बाटोमा समर्थन मात्रै पाएको उनले सुनाइन् ।























