काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बढ्दो राजनीतिक सक्रियता र सम्भावित नेतृत्व भूमिकाबारे नेकपा (एमाले)भित्र चर्चा चुलिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट धारका नेता–कार्यकर्तालाई भण्डारीले ढाडस दिइरहेको चर्चा छ ।
अध्यक्ष ओलीले भने हालै अनेरास्ववियुको भेलामा पार्टीमा कसैको खोजी भइरहेको चर्चाप्रति असन्तुष्टि जनाउँदै यस्तो गतिविधिले पार्टी कमजोर हुने बताएका थिए ।
यसबीच केही दिनदेखि पूर्वी नेपालमा कार्यक्रमहरूमा सहभागी भएकी भण्डारी मंगलबार काठमाडौं फर्किएकी छन् ।
पत्रकारसँग कुरा गर्दै उनले ओलीको अभिव्यक्ति आफूमाथि लक्षित भएको नलागेको बताइन् ।
‘मेरो व्यक्तिगत आकांक्षा केही छैन । चिनजान ठूलो छ । समाजसँग साक्षात्कारका लागि घुमिरहेकी हुँ,’ भण्डारीले भनिन् ।
पार्टीमा रहँदा गुटबन्दी नगरेको उल्लेख गर्दै उनले आफूप्रति असन्तोष हुन नसक्ने दाबी गरिन् ।























