images
images
  • माओवादीमा प्रचण्ड र जनार्दन गुटले पंगु बनाउँदै वाइसिएल, नेता–कार्यकर्ताबीचको जुहारी सतहमा

    काठमाडौं । वाइसिएल नेपालको नेतृत्व चयनको विषयलाई लिएर माओवादी केन्द्रभित्र सामाजिक सञ्जालमा चर्को वाकयुद्ध चलेको छ ।

    माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल शर्माले वाइसिएलको नेतृत्व चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन् ।

    उनले विधान पारित भएको केही घण्टा नपुग्दै सम्मेलनको सर्वोच्चतालाई बेवास्ता गर्दै असक्षमतालाई ढाकछोप गर्न खोज्ने प्रवृत्तिले वाइसिएललाई बन्धक बनाएको टिप्पणी गरेका छन् ।

    शर्माले लेखेका छन्, ‘विधान पास गरेको केहि घण्टा बित्न नपाउँदै सम्मेलनको सर्वोच्चतालाई हरण गर्ने र आफ्नो असक्षमतालाई ढाकछोप गर्ने प्रवृत्तिले वाईसीएललाई पनि बन्धक बनाएरै छोडे । यसमा वाइसिएलको खासै दोष छैन । त्यसको जिम्मा लिने र पार्टी नेतृत्वका कारण कति भिक्टिम भए त्यो इतिहासको गर्भमै रहला ।’

    उनले नयाँ अध्यक्ष पुष्प वलीको नेतृत्वलाई भने बधाई र शुभकामना दिएका छन् । तर, शर्माको यस स्टाटसमाथि वाइसिएल इन्चार्ज तथा माओवादी केन्द्रका अर्का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ’दीपशिखा’ले कडा प्रतिक्रिया दिएका छन् ।

    उनले वाइसिएलमा जनार्दन शर्मा पक्ष कमजोर भएको प्रतिक्रिया स्वरूप आसेपासेहरूले फैलाएको प्रचारप्रति आपत्ति जनाउँदै यस्तो निन्दनीय गतिविधि तत्काल रोक्न चेतावनी दिएका छन् ।

    दीपशिखाले भनेका छन्, ‘वाइसिएलमा घुनपुतली नलागेपछि तपाईं र अन्य आसेपासेले आजबाट सुरु गरेको प्रचार निन्दनीय छ । यस्ता पानी मरूवा चाल चल्न छोडेर साँच्चै लड्न आए हुन्छ । म माओवादीमा तपाईंका दाइ जहाँ लड्छन् त्यही चुनाव लड्न तयार छु ।’

    उनको भनाइअनुसार आफू त वाइसिएलको नेतृत्व निर्वाचनतर्फ लैजाने तयारीमै थिए । तर, जनार्दन शर्माले पार्टी पदाधिकारी र अध्यक्षसँगको सहमतिका आधारमा निर्वाचन नगराउने निर्णय गराएको जानकारी उनले दिएका छन् । खास के हो ? भनेर उनले अनिल शर्मा पक्षसँग प्रश्नसमेत गरेका छन् ।

    दीपशिखाको टिप्पणीपछि माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)की उपमहासचिव निर्मला गौतमले समेत प्रतिक्रिया दिएकी छन् । उनले लेखेकी छन्, ‘जनार्दन शर्मासँग होइन, महेश बस्नेतसँग चुनाव लडेर आउनुहोस्, संसदमा हेर्न मन छ ।’ गौतम जनार्दन शर्मा निकट मानिन्छिन् ।

    त्यस्तै अखिल (क्रान्तिकारी)का पूर्वसचिव खेम रनपहेलीले दीपशिखालाई लक्षित गर्दै पार्टी नेतृत्वको नाम भजाएर दादागिरी देखाउने प्रवृत्ति प्रति गम्भीर प्रश्न उठाएका छन् ।

    उनले लेखेका छन्, ‘तपाईंलाई वाईसीएलको कार्यकारी भूमिका दिइएको होइन। हाम्रो पार्टीमा फ्याक्सन इन्चार्ज कार्यकारी पद होइन । तपाईंको हस्तक्षेप थियो भन्ने गुनासो वाइसिएलका साथीहरूले गरेका छन् । वाइसिएल अध्यक्षभन्दा अगाडि तपाईं उभिनुपर्ने किन ?’

    रनपहेलीले पार्टी संगठनमा दीपशिखाको भूमिकालाई प्रश्न गर्दै उनलाई पार्टी अध्यक्षको नाम भजाएर राज गर्ने र पार्टीलाई निजी सम्पत्ति ठान्ने प्रवृत्तिको आरोप लगाएका छन् । उनी पनि शर्मा निकट नेतामध्ये पर्छन् ।

    वाइसिएलको नेतृत्व चयनमा आन्तरिक असहमति सतहमा आउँदा माओवादी केन्द्रभित्र गुटबन्दी, सत्ताकेंद्रीकरण र सांगठनिक असमझदारीको अवस्था उजागर भएको देखिएको छ । यद्यपि नेतृत्व चयन भइसकेपछि पार्टीको औपचारिक धारणा भने सार्वजनिक भइसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images