काठमाडौं । अमेरिकी अधिकारीहरूले केही दिनमै रुसले युक्रेनमाथि भीषण हमला गर्नसक्ने चेतावनी दिएका छन् ।
शुक्रबार मात्रै रुसले युक्रेनमाथि ४० मिसाइल र ४०० ड्रोन प्रयोग गरेर आक्रमण गरेको थियो ।
रुसले उक्त आक्रमणलाई युक्रेनले आइतबार गरेको साहसिक ड्रोन हमलाको जवाफ भनेको छ ।
युक्रेनले ११७ ड्रोन पठाई रुसका हवाई अड्डामा आक्रमण गर्दै ४१ वटा बमवर्षक विमान (टियू–९५, टियू–२२, ए–५०) ध्वस्त पारेको दाबी गरेको छ ।
रुसी अधिकारीहरूले आंशिक क्षति भएको स्वीकारे पनि सैन्य ब्लगरहरूले आणविक हतियार बोक्न सक्ने विमानहरूसमेत गम्भीर क्षति भएको बताएका छन् ।
रुससँग सीमित मात्रामा रहेका यी बमवर्षक विमानहरूमध्ये एक तिहाइ जति नष्ट भएको युक्रेनी दाबी सही ठहरे, रुसको मिसाइल क्षमतामा ठूलो असर पर्न सक्ने अनुमान गरिएको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार रुसको ‘साच्चिकै जवाफी हमला’ अझै आउन बाँकी छ । त्यो आक्रमण विनाशकारी हुनसक्नेछ ।
कार्नेगी एन्डोमेन्टका विशेषज्ञ माइकल कोफम्यानका अनुसार रूसले युक्रेनी गुप्तचर संस्था एसबियू वा रक्षा उत्पादन केन्द्रहरूलाई निशाना बनाउन सक्छ ।
तर, लगातारको युद्धले रूसी सैन्य क्षमतामा सीमितता आइसकेकोले रूसका विकल्प सीमित हुनसक्ने पनि विश्लेषकहरूले बताएका छन् ।


विश्व खबर 


















