images
images
  • संसद्‌मा छिरेको भिजिट भिसाले एमालेलाई हाइसञ्चो, छलफलमा सहभागी न गतिरोध अन्त्यको पहल

    काठमाडौं । प्रतिनिधिसभामा उत्पन्न गतिरोध अन्त्यका लागि प्रमुख दलहरूबीच बहुपक्षीय छलफल जारी छ ।

    विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय सवतन्त्र पार्टी (रास्वपा) लगायतले सत्तारूढ नेपाली कांग्रेससँग अलग–अलग छलफल गरिरहेका छन् । कांग्रेसका नेताहरू पनि विपक्षी दलहरूसँग संवादमा सक्रिय छन् ।

    आज (आइतबार) बिहान नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवासँग शनिबार भएको भेटबारे जानकारी गराएका थिए ।

    पछिल्ला दिनहरूमा कांग्रेस र विपक्षी दलबीच निरन्तर संवाद भइरहे पनि संसद् अवरोधका मूल विषय भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनबारे सहमति हुन सकेको छैन ।

    कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र नेता ज्ञानेन्द्र कार्की छलफलमा सहभागी हुँदै आएका छन् । विपक्षतर्फ रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले, सांसद सन्तोष परियार, उपनेता विराजभक्त श्रेष्ठ, र प्रवक्ता मनिष झा लगायत संवादमा संलग्न छन् ।

    तर, संसद् अवरोध अन्त्यका बहुपक्षीय प्रयासमा सत्तारूढ नेकपा (एमाले) भने खासै सक्रिय देखिएको छैन । सभामुखले बोलाएको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौला मात्र सहभागी भएका छन् भने अन्य नेताहरूको सहभागिता उल्लेखनीय छैन ।

    विपक्षी दलले भिजिट भिसा काण्डको निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग राखेका छन् । तर, सत्तापक्ष त्यसमा सहमत देखिँदैन ।

    यही विषय प्रवेशसँगै प्रतिनिधिसभाको बैठक जेठ १३ गतेदेखि प्रभावित छ । यद्यपि जेठ १५ गते बजेट प्रस्तुतिका क्रममा विपक्षले अवरोध नगरेको थियो, त्यसयता भने बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images