काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र ७० वर्षे उमेरहदको प्रावधान अब अप्रासंगिक भइसकेको बताएका छन् ।
काठमाडौंमा आज (आइतबार)बाट सुरु भएको अनेरास्ववियुको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै ओलीले यसबारे स्पष्ट अभिव्यक्ति दिएका हुन् ।
कार्यक्रमका पहिलो वक्ता विश्वकान्त मैनालीले ७० वर्ष पार गरेपछि राजनीतिबाट सन्यास लिनुपर्ने धारणा राखेपछि जवाफ दिँदै ओलीले भने, ‘अब त्यो अवधारणा फेल भइसक्यो ।’
ओलीका अनुसार एमालेभित्र उमेरको साटो कार्यक्षमता, अनुभव र आवश्यकतालाई प्राथमिकता दिन थालिएको छ । उनले चीन र साइप्रसजस्ता देशका कम्युनिस्ट पार्टीहरूले समेत उमेरहदको सीमा हटाएको उदाहरण प्रस्तुत गरे। ओलीले भने, ‘चीनमा महासचिव र राष्ट्रपतिको पद दुई कार्यकालमा सिमित थियो, तर सी जिनपिङको पालामा निरन्तरताको आवश्यकता देखिएपछि त्यो प्रावधान हटाइयो। अहिले उहाँ ७२ वर्ष पुग्नुभयो । त्यहाँ पनि पहिले ६५ वर्षको सीमा थियो। साइप्रसमा पनि ६५ वर्षे सीमा हटाइएको छ ।’
स्वास्थ्य र कार्यक्षमताको आधारमा नेतृत्व जारी राख्न सकिने बताउँदै ओलीले आफू अहिले ७४ वर्षको उमेरमा भएको स्मरण गराए । उनले भने, ‘अब ४ वर्षअघि फर्किन त सकिन्न, ७० मा रिटायर हुने कुरा फेल भइसकेको हो ।’
त्यस्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगभग तीन दशकयता पार्टीको नेतृत्वमै छन् । ओली दोस्रोपटक अध्यक्षमा निर्वाचित भएयता उनैले पार्टीको नेतृत्वका लागि निश्चित उमेरहद लगाउनुपर्ने भन्दै विधानसभा गरेर ७० वर्षे उमेरहद राखेका थिए । त्यसपछि नेकपा (एकीकृत समाजवादी) केही वयोवृद्ध नेता एमाले प्रवेश गर्ने भएपछि उनले उमेरहद हटाएका छन् ।























