काठमाडौं । संसद् अवरुद्ध भइरहेका बेला प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूबीच निरन्तर संवाद चलिरहेको छ ।
आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनमै दुई पार्टीका नेताहरू छलफलमा जुटेका हुन् । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्कीलगायत सहभागी छन् । माओवादी केन्द्रबाट उपमहासचिवहरू वर्षमान पुन र शक्तिबहादुर बस्नेत, प्रमुख सचेतक हितराज पाण्डे पनि संवादमा छन् ।
यसअघि, शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले कांग्रेस नेताहरू खड्का, कार्की तथा प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग भेटवार्ता गरेका थिए ।
संसदीय गतिरोध तोड्नका लागि कांग्रेससँगको छलफलमा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे पनि सहभागी हुँदै आएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले पनि कांग्रेस नेताहरूसँग संवाद गरिरहेको स्रोतहरूले जनाएका छन् ।
शनिबार माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग बुढानीलकण्ठस्थित निवासमै भेट गरेका थिए । आइतबार बिहान बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले देउवासँगको भेटबारे जानकारी गराएका थिए । त्यसपछि माओवादी केन्द्र र कांग्रेस नेताहरू फेरि छलफलमा बसेका हुन् ।
संसद् सञ्चालनबारे सहमति खोज्न भइरहेका यस्ता उच्चस्तरीय राजनीतिक छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ । तर, सत्तासाझेदार एमाले भने हालसम्म विपक्षीसँग संवादमा छैन ।























