कैलाली – कैलालीको टिकापुर नगरपालिका–७ मा स्कुटर चालक एक महिला र प्रहरीबीच भनाभन हुँदै हात हालाहालसम्म पुगेको घटना अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
शनिबार दिउँसो घटेको उक्त घटनाको भिडियो अहिले व्यापक रूपमा सेयर भइरहेको छ। भिडिओमा एक महिला स्कुटरको पछाडि बसेकी देखिन्छन् भने स्कुटर चलाइरहेका व्यक्ति नाबालक हुन्। प्रहरीका अनुसार ती नाबालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको भन्दै सादा पोशाकमा रहेका प्रहरीले स्कुटर रोकेका थिए।
स्कुटरमा पछाडि बसेकी महिलाले प्रहरीको कार्यशैलीप्रति आपत्ति जनाउँदै तीव्र प्रतिक्रिया दिएकी देखिन्छिन्। भिडियोमा ती महिलाले प्रहरी सहायक निरीक्षक (सई) यज्ञराज पन्तलाई अपशब्द प्रयोग गर्दै प्रश्न गर्दै गरेको दृश्य देखिन्छ।
प्रहरीले बालकलाई किन स्कुटर चलाउन दिइएको भन्ने प्रश्न उठाउँदा ती महिलाले आफूलाई लाइसेन्स र ब्लुबुक दुवै भएको बताउँदै प्रहरीसँग भनाभन गरेकी थिइन्। घटनाको क्रममा दुवै पक्ष उत्तेजित बनेपछि हात हालाहालको अवस्था सिर्जना भएको भिडिओमा प्रस्ट देखिन्छ।
भिडिओमा प्रहरी स्वयंले मोबाइलबाट दृश्य कैद गरिरहेको देखिन्छ भने महिलाले त्यो मोबाइल भुइँमा खसालेको दृश्य पनि देखिन्छ। प्रहरी पक्षले महिलाले जानाजान मोबाइल खसालेको आरोप लगाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी बालनरसिंह राणाका अनुसार घटनाबारे यथार्थ बुझ्न अनुसन्धान अघि बढाइएको छ।
“शुरुआती बुझाइमा महिलाले नाबालकलाई स्कुटर चलाउन दिएको गल्ती देखिए पनि हात हालाहाल गर्नु भने प्रहरीको असान्दर्भिक प्रतिक्रिया थियो,” एसपी राणाले बताए, “कसको कति गल्ती छ भन्ने कुरा अनुसन्धानपछि प्रष्ट हुन्छ।”























