काठमाडौं । इजरायली सरकारका एक प्रतिनिधिले थाइल्याण्डका अन्तिम बन्धक नाट्टापोङ पिन्टाको मृत्यु भएको पुष्टि भएको जानकारी दिएको छ ।
इजरायली सेनाले शनिबार जारी गरेको वक्तव्यमा दक्षिण गाजाको राफा क्षेत्रबाट पिन्टाको शव निकालिएको जनाएको छ ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणका क्रममा उनलाई जिउँदै बन्धक बनाइएको र ‘कैदमा रहेको बेला उनको हत्या गरिएको’ बताइएको छ ।
इजरायली सेनाले जारी गरेको वक्तव्यमा उनको मृत्युमा हमासको सहयोगी इस्लामिक जिहादसँग नजिक रहेको सशस्त्र समूह मुजाहिद्दीन ब्रिगेड दोषी देखिएको जनाइएको छ ।
थाइल्याण्डको विदेश मन्त्रालयका प्रवक्ता निकोरन्डेज बालान्कुराका अनुसार नाट्टापोङ गाजामा बन्धक अवस्थामा रहेका तीन जना थाई नागरिकमध्ये एक थिए । अन्य दुई जनाको मृत्यु सन् २०२४ मा भएको पुष्टि भए पनि इजरायलले अहिलेसम्म उनीहरुको शव भेट्न नसकेको निकोरन्डेजले बताए ।
तेल अभिभस्थित थाई राजदूतावासले नाट्टापोङको परिवारलाई सम्पर्क गरी यसबारे जानकारी गराएको र इजरायली पक्षसँग मिलेर जतिसक्दो चाँडो उनको शव थाइल्यान्ड फिर्ता गर्ने उनले बताए । यसैबीच, थाइल्याण्डको विदेश मन्त्रालयले गाजामा एक थाई बन्धकको मृत्यु भएको घटनाले देश शोकमग्न बनेको बताएको छ ।
निकोरन्डेजले एक भिडियो वक्तव्यजारी गर्दै भनेका छन्, ‘तेल अभिभस्थित रोयल थाई दूतावासलाई इजरायली सरकारका एक प्रतिनिधिले थाइल्याण्डका अन्तिम बन्धक नाट्टापोङ पिन्टाको मृत्यु भएको पुष्टि भएको जानकारी गराउनु पर्दा हामी अत्यन्त दुःखी बनेका र्छौ ।’
त्यस्तै इजरायल र हमासबीच जारी युद्धले मध्यपूर्वलाई रगत, आँसु र विनाशको अन्धकारमा डुबाएको छ । यति लामो समयसम्म जारी द्वन्द्वले अब केवल दुई समूहबीचको लडाइँ मात्र होइन । लाखौं निर्दोष जनताको अस्तित्व र बाँचाइको प्रश्न बनेको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमण सुरु भएयता कम्तीमा ५४ हजार २४९ प्यालेस्टिनीले ज्यान गुमाएका छन् । घाइतेको संख्या १ लाख २३ हजार ४९२ नाघिसकेको छ । मार्च १८ पछि मात्रै इजरायली सेनाले ३,९८६ जनाको हत्या गरेको जनाएको छ । पछिल्लो २४ घण्टामा मात्र ६७ शव अस्पतालमा ल्याइएका छन् भने १८४ घाइते भएका छन् ।
युद्धको बलिवेदीमा बालबालिका, वृद्ध, महिलादेखि सामान्य नागरिकसम्म च्यापिएका छन् । बम, गोली र सैन्य कारबाहीभन्दा भयावह अर्को संकट हो– मानवीय संकट । सीमाना पूर्णरूपमा बन्द भएपछि गाजामा न खाना पुगेको छ, न औषधि, न त शुद्ध पानी । स्वास्थ्य सेवा चरमराएको छ । बाँच्नकै लागि नागरिकहरू फोहोरको थुप्रोमा खाना खोज्न बाध्य छन् ।
भोकले पिरोलिएका आमाहरू छोराछोरीलाई बचाउन पोलेको भात र सुकेको रोटी उमालेर खुवाउने प्रयास गरिरहेका छन् । राहत सामग्री कहिले काँही पुग्छ । तर, त्यो पनि अराजकताको कारण दुर्घटनामा परिणत हुने गरेको छ । केही दिनअघि राहत वितरणको क्रममा भीड नियन्त्रण गर्न सुरक्षाबलले गोली चलाउँदा दर्जनौंको मृत्यु भयो, सयौं घाइते भए ।
युद्धको सुरुवातमा हमासले करिब २५० इजरायलीलाई बन्धक बनाएको थियो । उनीहरूसँगै नेपाली विद्यार्थी विपीन जोशीलाई बन्धन बनाइएको थियो । तर, हालसम्म उनीबारे कुनै जानकारी प्राप्त नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म १४८ जनालाई मात्रै फिर्ता ल्याउन सकिएको छ । सयौं अझै बेपत्ता छन् । तिनीहरूलाई सुरक्षित फिर्ता ल्याउन इजिप्ट, कतार र अमेरिका लगायतका देशहरू कूटनीतिक प्रयासमा जुटेका छन् । तर, कुनै स्थायी समाधानको बाटो खुल्न सकेको छैन ।
युद्धविरामको विषयमा निरन्तर बयानबाजी भइरहे पनि स्थायी सहमतिको संकेत छैन । इजरायलले भूमिगत हमास संरचनालाई समाप्त पार्ने अडान दोहोर्याइरहेको छ भने हमासले युद्धविरामका सर्तहरू परिवर्तन गर्दै आएको छ । मध्यस्थकर्ताहरू भने ब्याकफुटमा देखिन्छन् ।
विश्व जहाँ विज्ञान, प्रविधि र कूटनीतिक प्रगतिको कुरा गरिरहेको छ । त्यही बेला गाजा लगायतको क्षेत्र मानवीय विपत्तिको केन्द्र बनेको छ । अस्पतालहरूमा घाइते बालबालिकाको चिच्याहट, भग्नावशेषमा हराएका आफन्तको खोजी र रातभर सुनिने विस्फोटका आवाजहरूले यो युद्धलाई केवल सामरिक भिडन्त बनाएको छैन– यो मानवता विरुद्धको एक कठोर युद्ध बनेको छ ।
सम्पादकीय टिप्पणीे :
यो रिपोर्ट केवल संख्याहरूको बयान होइन । यो तीन लाखभन्दा बढी पीडितकोको आवाज हो । जुन अझै पनि सुन्न नसकिने गरी चिच्याइरहेको छ ।


विश्व खबर 


















