काठमाडौं । कांग्रेस–एमाले सत्ता गठबन्धनको ११ महिनापछि पहिलोपटक प्रमुख सत्तारूढ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच द्विपक्षीय भेटवार्ता भएको छ ।
हिजा (शनिबार) बिहान प्रचण्ड देउवाको निवास बुढानीलकण्ठमा पुगेर भेटवार्ता भएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । यसअघि दुई नेताबीच पटकपटक फोन संवाद भएको थियो भने केही हप्ता पहिले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा त्रिपक्षीय भेटसमेत भएको थियो । तर, देउवा–प्रचण्डबीच प्रत्यक्ष भेट भने यो पहिलोपटक हो ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै माओवादी केन्द्रसहित विपक्षी दलहरूले झन्डै दुई सातादेखि संसद् अवरुद्ध गरिरहेका छन् । सोही अवरोध अन्त्यको पहलस्वरूप भएको भेटमा संसद् सुचारु गर्ने सम्भावनाबारे छलफल भएको खड्काले बताए ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार प्रचण्डले विपक्षी दलहरूको म्यान्डेटअनुसार छानबिन समिति गठनको सुनिश्चितता खोजेको बताए । देउवाले भने संवैधानिक निकायमार्फत छानबिन भइरहेकाले थप समिति आवश्यक नरहेको स्पष्ट पारे ।
यद्यपि, दुवै नेताबीच थप छलफल गर्ने समझदारी बनेको छ । विपक्षी दलहरूले संसद् अवरोध अन्त्यबारे सत्तारूढ दलसँग संवादको जिम्मा प्रचण्डलाई दिएको भन्दै उनी देउवाको निवास पुगेका थिए । देउवासँगको भेटपछि प्रचण्डले विपक्षी दलहरूसँग पुनः सल्लाह गरेर फेरि छलफल गर्ने बताएका छन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई शीर्ष नेताको भेटपश्चात् संसद्को गतिरोध अन्त्यका लागि कुनै उपलब्धी नभएको बताए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि सत्तापक्षले आवश्यक चासो नदेखाएको आरोप लगाए ।
दलहरूबीच सहमति नजुट्दा आइतबार दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक अनिश्चित बनेको छ । विपक्षी माओवादी केन्द्र, रास्वपा, राप्रपा र एकीकृत समाजवादी दलले १३ जेठदेखि गृहमन्त्री लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गरिरहेका छन् ।
यद्यपि, संविधान अनुसार १५ जेठमा बजेट प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था भएकाले त्यस दिन संसद् सञ्चालन गर्न दिइएको थियो । तर, हाल बजेटमाथि छलफल गर्ने कार्यसूची रहेपनि प्रतिनिधिसभा चल्न सकेको छैन ।























