images
images
  • रुसले युक्रेनी शहरमा प्रहार गर्‍यो २ मिसाइल, ४८ ड्रोन र ४ वटा बम

    काठमाडौं । युक्रेनका विभिन्न शहरहरूमा शनिबार बिहान भएको रुसी हवाई आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने २० जना भन्दा बढी नागरिक घाइते भएका छन् ।

    खार्किभ सहरका मेयर इहोर टेरेखोभका अनुसार, यो सहरले हालसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमणको सामना गरेको छ ।

    बिहान करिब चार बजे सुरु भएको आक्रमणमा ४८ वटा ड्रोन, दुई वटा मिसाइल र चार वटा बम प्रयोग गरिएको जानकारी उनले दिए ।

    खार्किभमा मात्र तीन जनाको मृत्यु भएको र १७ जना घाइते भएको जनाइएको छ ।

    त्यसैगरी, खेरसोनमा तोपखानाको प्रहारबाट एक दम्पतीको मृत्यु भएको र दुई भवनमा क्षति पुगेको छ । ड्निप्रो सहरमा दुई जना महिला घाइते भएका छन् भने लुत्स्कमा शुक्रबारको आक्रमणमा घाइते एक युवतीको मृत्यु भएको पुष्टि गरिएको छ ।

    आक्रमणपछि उद्धारकर्मीहरू सक्रिय रुपमा प्रभावित क्षेत्रहरूमा काम गरिरहेका छन् । अधिकारीहरूले घाइतेहरूको उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेको जनाएका छन् ।

    रुसले पछिल्ला दिनहरूमा युक्रेनमाथि आक्रमण तीव्र बनाएको छ । उता युक्रेनले युद्धविरामको प्रस्ताव राखे पनि रुसले अझै त्यसमा सकारात्मक प्रतिक्रिया दिएको छैन ।

    अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई संयमता अपनाउन र शान्तिपूर्ण समाधानको बाटो रोज्न आग्रह गरिरहेको छ । -रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images