काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको भवन निर्माणका लागि शहरी विकास मन्त्रालयले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
उक्त बजेट ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा छुट्याइएको हो । तरुण दलका अध्यक्ष विद्वान गुरुङले एक विज्ञप्ति जारी गर्दै भवन निर्माणको पहलका लागि आभार व्यक्त गरेका छन् ।
उनले यसमा सहजीकरण गर्ने भूमिकाका लागि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहप्रति आभार प्रकट गरेका छन् ।
तरुण दलले निर्माण गर्न लागेको भवन गणेशमान सिंहको स्मृतिमा समर्पित रहने जनाइएको छ । शहरी विकास मन्त्रालयबाट बजेट विनियोजन भएपछि अब भवन निर्माण प्रक्रिया अगाडि बढाइने तरुण दलले जनाएको छ ।
गुरुङले स्मृति भवन निर्माणले संगठनात्मक गतिविधि सञ्चालनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।
राज्यको ढुकुटी कांग्रेस भातृ संगठनको भवन निर्माणमा हाकाहाकी विनियोजन हुँदा पनि नियामक निकायहरू मौन बनेका छन् ।


विश्व खबर 


















