काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकको वर्तमान जटिल राजनीतिक परिस्थितिमा कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डा.कोइरालाले नेपाली कांग्रेसको भूमिकालाई निर्णायक बनाउँदै सत्ता सञ्चालक शक्तिका रूपमा उभिनुपर्ने समय आएको धारणा व्यक्त गरे ।
उनले मध्यमार्गी दलको हैसियतमा रहेको कांग्रेसलाई अब सत्ताको चाबी आफैंसँग राख्नुपर्ने बेला आएको बताए ।
“कुनै पनि मुलुकमा मध्यमार्गी शक्ति कमजोर भयो भने देश अराजकतातिर जान्छ,” उनले भने, “कांग्रेस सरकारमा छ, तर सत्ताको चाबी प्रधानमन्त्री केपी ओलीसँग छ । त्यो चाबी अब कांग्रेसले खोस्नुपर्छ ।”
डा.कोइरालाले नेकपा (एमाले)लाई लक्षित गर्दै विगतमा पार्टीले गरेका अव्यवस्थित कार्यहरूलाई जनसमक्ष तथ्यसहित प्रस्तुत गर्न कांग्रेस कार्यकर्ताले ढिलो नगर्नुपर्ने बताए ।
उनले कांग्रेस कार्यकर्ताहरूले स्पष्ट राजनीतिक धारणासहित गल्ती र सहिको भेद खुलस्त गर्न आवश्यक रहेको उल्लेख गरे ।
“यदि एमालेले गलत काम गरेको छ भने त्यसलाई स्पष्ट रुपमा गलत भन्न सक्नुपर्छ । सहीलाई सही भन्ने र गलतलाई गलत भन्न सक्ने हैसियत राख्न नसक्नेहरू कांग्रेसका सच्चा कार्यकर्ता हुन सक्दैनन्,” डा.कोइरालाको चेतावनी थियो ।























