images
images
  • माओवादी सेना वाइसिएलको अध्यक्ष र महासचिव सर्वसम्मत, अन्य पदमा अझैँ लफडा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल)को अध्यक्षमा पुष्प वली सर्वसम्मत चयन भएका छन् ।

    जेठ १८ गतेदेखि काठमाडौंमा जारी राष्ट्रिय सम्मेलनको छैटौं दिन वलीलाई अध्यक्षमा र गणेश शाहीलाई महासचिवमा सर्वसम्मत चयन गरिएको हो ।

    वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सामाजिक सञ्जालमार्फत दुबै नेताको सर्वसम्मत चयनको जानकारी दिएका छन् ।

    अध्यक्ष पदका लागि प्रारम्भमा १३ जना आकांक्षी थिए । छलफलपछि ७ जना आकांक्षीले उम्मेदवारी फिर्ता लिएका थिए ।

    महासचिवमा चयन भएका शाही पनि अध्यक्ष पदका आकांक्षीमध्ये एक थिए । वलीसँगै केहरसिंह कुँवर, कर्म पुलामी, नवराज ऐरलगायतले पनि अध्यक्ष पदमा आकांक्षा व्यक्त गरेका थिए ।

    “बृहत छलफलपछि सबै साथीहरू सर्वसम्मत चयनमा सहमत हुनुभयो,” अध्यक्षमा चयन भएका पुष्प वलीले बताए ।

    उनका अनुसार अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लगाउने प्रक्रिया जारी छ र सम्भवतः आजै बेलुका सम्म टुंगो लाग्नेछ ।

    वाइसिएलको अघिल्लो संरचनामा ६१ पदाधिकारी, तीनवटा आयोग (लेखा, निर्वाचन र अनुशासन ) तथा ३५१ सदस्यीय केन्द्रीय कमिटी थियो ।

    यसपटक सर्वसम्मत नेतृत्व चयन प्रक्रिया सहज बनाउन १० जना अतिरिक्त पदाधिकारी थप्ने तयारी भएको अध्यक्ष वलीले जानकारी दिए ।

    “सर्वसम्मत चयनका लागि पदाधिकारी संख्या बढाउनुपर्ने देखियो । त्यसअनुसार अब पदाधिकारीको संख्या ७१ पुग्नेछ,” उनले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images