काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) को तेस्रो राष्ट्रिय सम्मेलन नेतृत्व चयनमै अल्झिएको छ । सम्मेलन जेठ १८ गते प्रज्ञा भवनमा सुरु भए पनि पाँच दिनसम्म नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा प्रारम्भ हुन सकेको छैन ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमतिमार्फत नेतृत्व चयन गर्न निर्देशन दिएपछि प्रक्रिया लम्बिएको हो । वाइसिएलका निवर्तमान अध्यक्ष सुवोध शेर्पालीका अनुसार पार्टी इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ र उपमहासचिव शक्तिबहादुर बस्नेत आकांक्षीहरूबीच सहमति जुटाउन प्रयासरत छन् ।
शेर्पालीका अनुसार सुरुमा अध्यक्ष पदका लागि १३ जना आकांक्षी थिए । हाल त्यो संख्या घटेर ६ मा सीमित भएको छ । ‘पार्टी इन्चार्ज र उपमहासचिवले सहमति जुटाउने प्रयास गर्दै आज साँझ ६ बजेसम्मको समय दिएका छन्,’ उनले बताए, ‘हामी नेतृत्व सहमतिबाटै टुंग्याउने तयारीमा छौं ।’
वाइसिएल अध्यक्षका आकांक्षीहरूमध्ये केहरसिंह कुँवर र पुष्प ओली प्रमुख प्रतिस्पर्धीको रूपमा अगाडि देखिएका छन् । माओवादी स्रोतहरूका अनुसार यी दुईमध्ये एक जना अध्यक्ष बन्ने सम्भावना बढी छ भने अन्य आकांक्षीहरूको व्यवस्थापनका लागि विधान संशोधनसम्मको तयारी भइरहेको छ ।
हालको विधानअनुसार वाइसिएलमा ३५ पदाधिकारी, ३ वटा आयोग र २५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । तर, नेतृत्व चयन पछि आवश्यक परे विधान हेरफेर गर्न सकिने अध्यक्ष शेर्पालीले संकेत दिएका छन् । ‘पहिले शीर्ष नेतृत्व टुंगो लाग्नुपर्छ, त्यसपछि बाँकी साथीहरूको व्यवस्थापन सहमतिमै गरिन्छ,’ उनले भने ।
प्रारम्भमा प्रज्ञा भवनमा सञ्चालन भएको सम्मेलन अब चाबहिल स्थानान्तरण गरिएको छ । नेतृत्व चयनमा सहमति जुटाउने क्रममा निर्वाचन समितिले कार्यतालिका तीन पटकसम्म संशोधन गरिसकेको छ । सम्मेलनमा १,५२२ जना प्रतिनिधिहरू सहभागी छन् ।
पार्टीभित्र नेतृत्व चयन प्रक्रियामा सहमतिको प्राथमिकताले संस्थागत निर्णय प्रक्रियालाई लामो बनाइरहेको देखिन्छ । अबको केन्द्रीय नेतृत्व कसले सम्हाल्ने भन्ने चासो मात्र होइन, वाइसिएलको भावी दिशा निर्धारण गर्ने विषय पनि यो सम्मेलनसँग गाँसिएको छ ।
तर, यस संगठनको नेतृत्व चयन गर्ने जिम्मा पाएका माओवादी उपमहासचिव शक्तिबहादुर बस्नेतले भने अझैँ नेतृत्व टुंग्याउन सकेका छैनन् । पार्टीमा उच्च पद कमजोर हुती भएका बस्नेतले पाँच दिनसम्म पनि नेतृत्व टुंग्याउन नसकेपछि माओवादीमा उनको आलोचना हुन थालेको छ ।
यसअघि अखिल (क्रान्तिकारी)को नेतृत्व चयनको जिम्मा पाए पनि उनले यस्तै लथालिङ्ग बनाएका थिए । महिनौँपछि अखिलले नयाँ नेतृत्व पाएको थियो । शक्ति उच्च पदीय दायित्व र जिम्मेवारी पाउने गरे पनि त्यसमा उनको भूमिका निकै कमजोर देखिन्छ । यसको प्रतीत विद्यार्थी र वाइसिएल संगठनमा देखा परेको छ ।























