images
images
  • ओलीभन्दा प्रचण्डसँग नजिकिँदै देउवा, दुवै नेताबीच निरन्तर फोन संवाद, भेटवार्ताको तयारी

    काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेका छन् ।

    हिजो (बिहीबार) उक्त मुद्दा दर्ता भएको केहीबेरमै देउवाले अध्यक्ष प्रचण्डलाई फोन गरेर ‘के भएको हो, माधव नेपालमाथि मुद्दा किन दर्ता भयो ?’ भनेर जिज्ञासा राखेका थिए । यो कुराको खुलासा प्रचण्डले शुक्रबार नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै गरेका हुन् ।

    ‘देउवाजीले मलाई फोन गरेर सोध्नुभयो, ’के हो यो कुरा ?’ म त अचम्म परेँ । सरकारमा रहेको सबैभन्दा ठूलो दलका सभापतिले मलाई सोध्नुभयो भनेपछि म उल्टै भन्न पुगेँ, यो त म तपाईंलाई सोध्नुपर्ने हो,’ प्रचण्डले भने । उनका अनुसार देउवाले यसबारे आफू जानकार नभएको बताए ।

    प्रचण्डले थपे, ‘शेरबहादुरजीले झुट बोल्नुहुन्न् भन्ने मलाई लाग्छ । मैले विश्वासको मत लिने बेला पनि संसद्मा यही भनेको थिएँ । त्यसैले उहाँले यो विषयमा जानकारी नभएको भन्नुभयो भने म विश्वास गर्छु ।’

    उनका अनुसार माधव नेपालको मुद्दा राजनीतिक प्रतिशोध स्वरूप अघि बढाइएको जस्तो देखिन्छ । देउवासँग कुनै सल्लाह वा सहमति नभई मुद्दा दर्ता गरिएको बुझाइ प्रचण्डको छ । यो घटनाले सत्ता–प्रतिपक्ष दुवै पक्षमा आशंका, सञ्चार अभाव र राजनीतिक नियतको बहसलाई पुनः सतहमा ल्याएको छ ।

    यो विषयलाई लिएर देउवा र प्रचण्डबीच भेटवार्ता हुने भएको छ भने संसद्को गतिरोध अन्त्यबारे पनि छलफल हुँदैछ । यद्यपि भेटवार्ताका लागि समय भने तोकिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images