images
images
  • पूर्वप्रधानमन्त्री माधवलाई चोख्याउने दाउमा विपक्षी, अग्निको निहुँमा संसद्‌मै प्रतिवाद गर्ने तयारीमा सत्तापक्ष

    काठमाडौं । तोकिएको पूर्वनिर्धारित समयमा संसद् बैठक बस्न सकेको छैन ।

    शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा विपक्षी दलसँग कुरा नमिलेपछि संसद् बैठक यो समाचार तयार पार्दासम्म बस्न सेको छैन ।

    विपक्षी दलहरूले विगत केही दिनयता संसद्को गतिरोध कायम राखेका छन् । गृहमन्त्री रमेश लेखक भिजिट भिसामा संलग्न रहेको भन्दै संसद्को गतिरोध कायम राखेका हुन् ।

    उक्त प्रकरणको निष्पक्ष छानविनका लागि गृहमन्त्री लेखकले मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । तर, उनले हालसम्म आफू निर्दोष रहेको भन्दै मार्ग प्रशस्त गर्न मानेका छैनन् ।

    यसैलाई निहुँ बनाएर विपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र

    पार्टी (राप्रपा) लगायतका दलहरूले गृहमन्त्रीले मार्ग प्रशस्त नगरेसम्म संसद्को गतिरोध कायमै राख्ने अडान लिएका छन् ।

    संसद् सञ्चालनमा देखिएको असहजताले राजनीतिक स्थायित्वको सन्देश दिन अझैँ सकेको छैन । यहीँबेला नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा प्रवक्ता अग्निप्रसाद सापकोटासम्बन्धी विवादले राजनीतिक वृत्तमा थप तरंग ल्याएको छ ।

    पूर्वप्रधानमन्त्री नेपाल पतञ्जली योगपीठलाई भोगचलन तथा स्वामित्वविहीन सरकारी जग्गा दिने निर्णयमा संलग्न भएको सार्वजनिक भएको छ । नेपाल नेतृत्वको समाजवादी पार्टीका कतिपय नेताहरूले नै उक्त निर्णयको नैतिकता र वैधानिकताबारे प्रश्न उठाउन थालेका छन् ।

    प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाविरुद्ध लामो समयदेखि थाती रहेको रामहरी श्रेष्ठ हत्याकाण्डसम्बन्धी अनुसन्धान पुनः सक्रिय बनेपछि माओवादी पनि अप्ठेरोमा परेको छ ।

    दुवै दलका नेताहरू विवादमा तानिएपछि संसद्मा सत्तापक्ष र विपक्षी दुवै मौन बसेका छन् । न त सत्ता पक्षले नेपालको विषयमा स्पष्ट धारणा दिएको छ, न त विपक्षीले सापकोटा प्रकरणबारे नैतिक जिम्मेवारी स्पष्ट पारेको छ ।

    सोही विषयलाई लिएर विपक्षी दलहरू भर्खरै छलफलमा जुटेका छन् । विपक्षीले माधव नेपालको विषयलाई लिएर संसद्मा उठाउने तयारी गरेको छ ।

    अग्नि सापकोटाको मुद्दालाई लिएर सत्तापक्षी दलका सांसदहरू भने विपक्षी सांसदसँग प्रतिवाद गर्ने तयारी गरेका छन् । आज (शुक्रबार) संसद्मा फरक दृष्य देख्न सकिने आकलन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images