images
images
  • मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री ओली, अधिकांश कांग्रेसका मन्त्री नै डेन्जर जोनमा

    काठमाडौं । कांग्रेस–एमाले गठबन्धनको नेतृत्वमा बनेको सरकार गठन भएको ११ महिना पूरा भएको छ ।

    एक वर्ष नजिकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका छन् ।

    हालका केही मन्त्रीहरू विभिन्न विवादमा तानिएपछि सरकारको आलोचना बढेको र कार्यसम्पादनप्रति असन्तुष्टि बढ्दै गएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य थालेका हुन् ।

    स्रोतहरूका अनुसार प्रधानमन्त्री ओलीले सत्तारूढ गठबन्धनभित्रको समन्वय, मन्त्रीहरूको कामको मूल्यांकन र जनमतलाई ध्यानमा राख्दै केही मन्त्री फेर्ने तयारी गरेका छन् । पछिल्लो समय केही मन्त्रीहरू भ्रष्टाचार, शक्ति दुरुपयोग र काममा प्रभावहीनताका कारण आलोचित बनेका छन् ।

    कांग्रेस र एमाले दुवै पार्टीका शीर्ष नेताहरूसँगको छलफलपछि मन्त्रिपरिषद् पुनर्गठनको रूपरेखा तय गरिने जनाइएको छ । संघीय सरकारका मन्त्रीहरूले अपेक्षित प्रदर्शन गर्न नसकेको भन्ने आलोचना संसददेखि सामाजिक सञ्जालसम्म उठ्दै आएको छ ।

    पछिल्लो समय ओली नेतृत्वले सरकारको छवि सुधार्नका लागि पुनर्गठन आवश्यक देखेको हो । प्रधानमन्त्रीले यसअघि नै गठबन्धनका शीर्ष नेताहरूलाई मन्त्रीहरूको कामकारबाही मूल्यांकन गर्न अनुरोध गरेका थिए ।

    गठबन्धनभित्रकै नेताहरूबीच पनि कतिपय मन्त्रीहरूको व्यवहार र निर्णयप्रति असन्तुष्टि देखिएको छ । केही मन्त्रीहरूले मन्त्रालयलाई व्यक्तिगत जागीर बनाएर काम गरेको आरोप पनि उठेका छन् ।

    त्यस्तै, सत्ता साझेदारीको सन्तुलन मिलाउन र आगामी बजेट तथा निर्वाचन तयारीका सन्दर्भमा कार्यदललाई चुस्त बनाउन पनि पुनर्गठन आवश्यक देखिएको हो ।

    प्रधानमन्त्रीको सचिवालयले मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम मिति तोकिसकेको छैन । तर स्रोतहरूका अनुसार आगामी २–३ साताभित्रै नयाँ मन्त्रिपरिषद् संरचना सार्वजनिक हुने सम्भावना छ । हालसम्म आन्तरिक गृहकार्य, मूल्यांकन, सल्लाह–मसलाह चलिरहेको छ ।

    प्रधानमन्त्री ओलीले सरकारको आलोचना न्यून गर्न, विश्वसनीयता बढाउन र कार्यसम्पादनमा परिणाममुखी रणनीति अपनाउन मन्त्रिपरिषद् पुनर्गठनलाई निर्णायक कदमका रूपमा अघि सार्न लागेका हुन् ।

    ऊर्जामन्त्री दीपक खड्का लगातार विवादमा छन् । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण पत्रहरू पठाउँदै हटाउने प्रयास, मन्त्रालयको भवनमै आफ्ना लागि कोठा रिजर्भ गर्ने र हालै लोडसेडिङसम्बन्धी भ्रम फैलिएको जस्ता विषयमा उनको आलोचना हुँदै आएको छ । संसद्मा उनले भारतलाई श्रेय दिनुपर्ने भनाइसमेत विवादमा परेको छ ।

    पर्यटनमन्त्री बद्री पाण्डेमाथि पनि कांग्रेसभित्रबाटै असन्तुष्टि व्यक्त हुँदै आएको छ । पर्यटन र हवाई क्षेत्रमा अपेक्षित सुधार ल्याउन नसकेको भन्दै उनको आलोचना हुँदै आएको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई सरुवा–बढुवामा एकल निर्णय लिएको आरोप लागेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images