images
images
  • पूर्वप्रधानमन्त्री नेपाल र माओवादी प्रवक्ता सापकोटा प्ररकणले संसद्को गतिरोध मत्थर, सत्ता–विपक्षी तैचुपमैचुप

    काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ ।

    आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२÷०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

    यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् ।

    राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्ने छ । सो बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने छ । पछिल्लो राजनीतिक घटनाक्रमले संसद्को गतिरोध केही हदसम्म मत्थर भए पनि दलहरू आन्तरिक रूपमा गम्भीर संकटमा फसेका छन् ।

    संसद् सञ्चालनमा देखिएको सहजताले राजनीतिक स्थायित्वको सन्देश दिन थालेको बेला नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा प्रवक्ता अग्निप्रसाद सापकोटासम्बन्धी विवादले राजनीतिक वृत्तमा तरंग ल्याएको छ ।

    पूर्वप्रधानमन्त्री नेपाल पतञ्जली योगपीठलाई भोगचलन तथा स्वामित्वविहीन सरकारी जग्गा दिने निर्णयमा संलग्न भएको सार्वजनिक भएपछि सत्ता गठबन्धन नै असहज अवस्थामा पुगेको छ ।

    नेपाल नेतृत्वको समाजवादी पार्टीका कतिपय नेताहरूले नै उक्त निर्णयको नैतिकता र वैधानिकता बारे प्रश्न उठाउन थालेका छन् । यता, प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाविरुद्ध लामो समयदेखि थाती रहेको रामहरी श्रेष्ठ हत्याकाण्डसम्बन्धी अनुसन्धान पुनः सक्रिय बनेपछि माओवादी पनि अप्ठेरोमा परेको छ ।

    दुवै दलका नेताहरू विवादमा तानिएपछि संसद्मा सत्तापक्ष र विपक्षी दुवै मौन बसेका छन् । न त सत्ता पक्षले नेपालको विषयमा स्पष्ट धारणा दिएको छ, न त विपक्षीले सापकोटा प्रकरणबारे नैतिक जिम्मेवारी स्पष्ट पारेको छ । संसद्भित्र ठूला दलपतै ‘तै चुप मै चुप’ को भूमिकामा देखिएका छन् । यद्यपि, संसद् सञ्चालन भने नियमितजस्तै भैरहेको छ ।

    स्रोतका अनुसार, सत्ता गठबन्धनका नेताहरू आन्तरिक रूपमा नेपालको पतञ्जलीसँगको सम्बन्धबारे छलफलमा जुटिरहेका छन् । त्यस्तै, माओवादी केन्द्रभित्र सापकोटाको मुद्दाले आगामी दिनमा पार्टीको छवि र साखमा गम्भीर असर पर्ने हो कि भन्ने चिन्ता बढ्दै गएको छ । पार्टीको उच्च तहमा नेतृत्व परिवर्तनको चर्चा समेत सतहमा आएको बताइन्छ ।

    सत्तापक्ष र प्रमुख प्रतिपक्ष दुवै आलोचना उचाल्न हिच्किचाएका छन् । सत्तारूढ कांग्रेस, जसपाजस्ता दलहरू नेपाल प्रकरणमा प्रत्यक्ष टिप्पणी गर्नबाट बचिरहेका छन् । उता एमाले भने सापकोटाविरुद्ध उठेका प्रश्नलाई संसद्मा नउठाई सावधानीपूर्वक हेरिरहेको देखिन्छ ।

    यसैबीच, नागरिक समाज र स्वतन्त्र अभियन्ताहरू भने सत्तापक्ष र प्रतिपक्षको यस ‘असंवैधानिक चुप्पी’ प्रति आक्रोशित छन् । पूर्वसचिव भीम उपाध्यायले लेखेका छन्, ‘मुलुकमा सत्तासीनहरूले नै कानूनको खिल्ली उडाउने हो भने भ्रष्टाचार, मानवअधिकार उल्लंघनजस्ता विषयमा निष्पक्षता कसरी सम्भव हुन्छ ?’

    पतञ्जलीसँग जोडिएको जग्गा काण्डमा पूर्वप्रधानमन्त्रीको नाम आउनु र मानवअधिकार हननप्रकरणमा उच्चपदस्थ नेतामाथि छानबिन जारी रहनु आफैंमा नेपालको राजनीतिमा गम्भीर सन्देश बोकेको छ ।

    दलहरूले आफूले उठाउने मुद्दा अनुसार नै मौनता अख्तियार गर्ने, गठबन्धनको जालोभित्र एकअर्काको बचाउ गर्ने प्रवृत्तिले दलीय नैतिकता र जवाफदेहितामाथि प्रश्न उठ्न थालेको छ ।

    संसद् नियमित भए पनि राजनीतिक संरचना भने असामान्य दवाबमा देखिन थालेको छ । त्यसैले, अब दलहरूले आ–आफ्नो नेतृत्वमाथि उठेका गम्भीर प्रश्नको सामना गर्न नचाहे मुलुक फेरि एकपटक दलीय स्वार्थ र शक्ति राजनीतिबीच घुमिरहनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images