images
images
  • वाइसिएलको नयाँ नेतृत्व चयनमा प्रचण्डको टीकेप्रथा हाबी, निर्वाचन छाडेर सहमतिमा टुंग्याउन कडा निर्देशन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) अन्तर्गतको युवा संगठन, योङ कम्युनिष्ट लिग (वाइसिएल)को तेस्रो राष्ट्रिय सम्मेलनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सहमतिको आधारमा टुंग्याउने प्रयास पार्टी नेतृत्वद्वारा तीव्र पारिएको छ ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्पष्ट निर्देशनपछि सहमतिको खोजीमा नेताहरूबीच गहन परामर्श जारी छ । नेतृत्व चयन प्रक्रियालाई समावेशी, संगठित र कार्यकर्तामुखी बनाउन सहमतिलाई प्राथमिकता दिने अध्यक्ष दाहालको धारणा रहेको उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताए ।

    यसै सन्दर्भमा वाइसिएलका निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले शुक्रबार दिउँसो १ बजेदेखि उम्मेदवारी दर्ता प्रक्रिया प्रारम्भ गरिने जानकारी दिए । उनका अनुसार प्रारम्भिक रूपमा अध्यक्ष पदका लागि १३ जना आकांक्षी देखिए पनि अहिले त्यो संख्या घटेर ६ जनामा सीमित भएको छ । ती आकांक्षीहरूमाझ सहमति कायम गरी प्रक्रिया निष्कर्षमा पु¥याउने तयारी गरिएको उनले स्पष्ट पारे ।

    यद्यपि, पूर्वनिर्धारित कार्यतालिका अनुसार सम्मेलन जेठ २० गते सम्पन्न हुनुपर्ने भए पनि नेतृत्व चयन प्रक्रिया जेठ २३ गतेसम्म पनि औपचारिक रूपमा प्रारम्भ हुन सकेको छैन । सम्मेलनले २५१ सदस्यीय केन्द्रीय समिति, ३५ सदस्यीय पदाधिकारी समूह र तीनवटा आयोग गठन गर्ने लक्ष्य लिएको छ ।

    निर्वाचन समितिले उम्मेदवारहरूको नामावली सार्वजनिक गरिसकेको छ । वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलनमा देशभरबाट आएका १,५२२ जना प्रतिनिधिहरू सहभागी छन् । अध्यक्ष पदको दौडमा हाल केहरसिंह कुँवर, पुष्प ओली, कर्म पुलामी, गणेश शाही र नवराज ऐरलगायतका नेताहरूको नाम चर्चामा छन् ।

    सम्मेलनको प्रारम्भिक चरणमा कुँवरलाई बलियो दाबेदार मानिए पनि पछिल्लो समिकरणले पुष्प ओलीको सम्भावना बलियो बनाएको एक प्रतिनिधिले जनाएका छन् । अर्का प्रतिनिधिका अनुसार पुलामी, शाही र ऐर भने अझै प्रतिस्पर्धाबाट पछि हट्ने संकेतमा छैनन् ।

    यद्यपि, अन्तिम निर्णय भने अध्यक्ष प्रचण्डको राजनीतिक सन्तुलन, रणनीतिक मूल्याङ्कन र सांगठनिक प्राथमिकतामाथि आधारित हुने अपेक्षा गरिएको छ । ‘प्रचण्डले जसलाई समर्थन जनाउनुहुन्छ, नेतृत्व त्यही बन्ने सम्भावना प्रवल छ,’ एक प्रतिनिधिको भनाइ थियो ।

    खुमलटारस्थित अध्यक्ष निवासमा बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकमा पनि प्रचण्डले सम्मेलनलाई सहमतिको माध्यमबाट निष्कर्षमा पु¥याउन जोड दिएको सन्दर्भ सार्वजनिक भएको छ ।

    बैठकमा सहभागी नेताहरूका अनुसार वाइसिएललाई योग्य, ऊर्जाशील र संगठित नेतृत्वको हस्तान्तरण गर्न पार्टीले निष्पक्ष र सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने निष्कर्ष निकालिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images