images
images
  • राजावादीले देशका प्रमुख शहरहरूमा तीनकुनेभन्दा सशक्त आन्दोलन गर्ने तयारी, यस्ताे छ रणनीति

    काठमाडौं । राजसंस्था पुनःस्थापनाको उद्देश्यले गठित संयुक्त जनआन्दोलन समितिले आगामी चरणको आन्दोलनलाई जिल्लामुखी बनाउँदै रणनीतिक पुनःसंरचना गर्ने निर्णय गरेको छ ।

    समितिमा आबद्ध ४५ वटा राजनीतिक दल, समूह तथा अभियानहरूको बुधबार बसेको संयुक्त बैठकले आन्दोलनको पहिलो चरणबाट प्राप्त अनुभव र प्रतिक्रियाको गहिरो समीक्षा गर्दै आन्दोलनको भावी कार्यदिशालाई परिमार्जन गर्ने निष्कर्ष निकालेको हो ।

    संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गत एक सातादेखि सञ्चालनमा आएको जनआन्दोलनको समग्र मूल्यांकन गर्दै भावी आन्दोलन थप सशक्त, प्रभावकारी र सहभागीमूलक बनाउन विविध कार्यक्रम तय गरिएको छ ।’

    बैठकले जनआन्दोलनलाई जनस्तरमा गहिरो रूपमा विस्तार गर्न राज्यका विभिन्न निकायहरूमा पूर्वरूपमा कार्यरत राष्ट्रसेवक, सुरक्षाकर्मी तथा नागरिक समाजका सरोकारवालाहरूसमेतलाई सक्रिय सहभागिताको लागि अपिल गरेको छ ।

    १. काठमाडौं उपत्यकाभित्रका विभिन्न नगरपालिका तथा स्थानीय तहहरूमा विरोध प्रदर्शनलाई निरन्तरता दिने ।

    २. राजधानी बाहिर देशका प्रमुख शहरहरूमा विरोधसभा, धर्ना तथा जनप्रदर्शन सञ्चालन गर्ने ।

    ३. आन्दोलनलाई स्थानीय तहसम्म विस्तार गर्न ‘संयुक्त जनआन्दोलन समिति’ का संरचना गठन गर्ने ।

    ४. जिल्लास्तरमा प्रतिबद्ध, जुझारु र संगठित युवा कार्यकर्ताहरूको समूह निर्माण गर्ने ।

    ५. प्रत्येक जिल्लामा चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्ने ।

    ६. जिल्लास्तरका अभियान सम्पन्न भएपछि आन्दोलनको केन्द्र पुनः काठमाडौं बनाउने रणनीति अवलम्बन गर्ने ।

    समितिले आन्दोलनलाई क्रमशः व्यापक जनआधारयुक्त बनाउँदै लैजान नागरिक तहबाट चुलिंदो असन्तोष, राजनीतिक अविश्वास र वैकल्पिक संरचना प्रती जनमानसमा बढ्दो आकर्षणलाई आधार बनाउने संकेत गरेको छ ।

    नागरिक तहमा रहेको असन्तुष्टि र राजसंस्थाप्रतिको चासोलाई संगठित राजनीतिक शक्तिमा रूपान्तरण गर्ने दीर्घकालीन उद्देश्यले रणनीतिक कार्ययोजना तयार गरिएको उल्लेख गरिएको छ ।

    विज्ञप्तिमा थप उल्लेख छ, ‘आन्दोलनको आगामी चरणमा निजामती सेवा, सेना, प्रहरी लगायत राष्ट्रको हितमा योगदान पु¥याएका पूर्व राष्ट्रसेवकहरू, विविध पेशागत क्षेत्रका प्रतिनिधिहरू तथा आम नागरिकहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न अभियान सञ्चालन गरिनेछ ।’

    संयुक्त जनआन्दोलन समितिको यो निर्णयसँगै आन्दोलनको प्रभावक्षेत्र राजधानीको सीमा पार गर्दै देशका अन्य भौगोलिक तथा राजनीतिक केन्द्रतर्फ बिस्तार हुने संकेत देखिएको छ । आंदोलनका कार्यक्रमहरू आगामी दिनमा थप तीव्र, समन्वयात्मक र संगठनात्मक रूपमा परिपक्व बनाउने प्रयासमा समितिले आफूलाई उन्मुख गराएको विज्ञप्तिले प्रष्ट पारेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images