काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को नयाँ नेतृत्व चयन प्रक्रिया अन्ततः निर्वाचनमार्फत हुने भएको छ ।
नेतृत्व चयन सहमतिको माध्यमबाट गर्न केही शीर्ष नेताहरूको प्रयास भए पनि अन्तिममा सहमति जुट्न नसकेपछि संगठन निर्वाचन प्रक्रियामा जाने निष्कर्षमा पुगेको हो ।
बिहीबार नेपाल प्रज्ञा भवनदेखि सुरु हुने निर्वाचन प्रक्रियाको तयारी भइरहेको वाईसीएलका संयोजक तथा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए ।
सम्भावित सहमतिका लागि बिहानैदेखि युवा संगठन समन्वय संयोजक बस्नेत, वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ र अध्यक्ष सुबोध शेर्पालीले छलफल तथा सहमति प्रयास गरेका थिए ।
तर, उक्त प्रयास सफल नभएपछि नेताहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा पुगेर अन्तिम सहमतिको प्रयास गरेका थिए । त्यहाँ पनि सहमति नजुटेपछि निर्वाचन प्रक्रियामा जाने निर्णय भएको हो ।

वाईसीएल अध्यक्ष पदका लागि केहरसिंह कुँवर, पुष्प ओली, गणेश शाही र नवराज ऐर लगायतको उम्मेदवारी रहेको बताइएको छ ।
संगठनको भावी दिशा र नेतृत्व तय गर्ने महत्वपूर्ण प्रक्रियाको संघारमा पुगेको वाईसीएलले निर्वाचनमार्फत लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै अघि बढ्ने देखिएको छ ।























