काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद् अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को अडान कायमै रहेपछि सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलहरुको छलफल निष्कर्षविहीन बनेको छ ।
सभामुख घिमिरेले मंगलबार संसद् बैठक सञ्चालन सहज बनाउने प्रयासस्वरूप सत्तारूढ गठबन्धन र प्रतिपक्ष दलका प्रमुख सचेतकहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए । तर, माओवादी केन्द्रको स्पष्ट अडानका कारण कुनै सहमति जुट्न सकेन । फलस्वरूप आज दिउँसो १ बजेका लागि तय गरिएको संसद् बैठक बस्नै सकेन ।
छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जान चाहनेहरूसँग अवैध दैनिक ५० लाख रकम असुल गरिएको प्रकरण गम्भीर भएको भन्दै गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिनैपर्ने पार्टीको अडान दोहोर्याए ।
भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईसहितका अधिकारीहरूलाई अनुसन्धानको दायरामा ल्याइसकेको छ । यसलाई लिएर माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरूले लेखकमाथि नैतिक प्रश्न उठाउँदै संसद् अवरुद्ध गरिरहेका छन् ।
उता, सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले भने गृहमन्त्री लेखकले संसद्मै आएर जवाफ दिन पाउनुपर्ने बताउँदै आएका छन् । उनीहरूको तर्कमा लेखकमाथि कुनै ठोस प्रमाण नआएसम्म राजीनामा माग गर्नु राजनीतिक पूर्वाग्रह हो ।
सभामुख घिमिरेले दिनभर दलहरूबीच संवादको प्रयास गरे पनि कुनै साझा समझदारी बन्न नसक्दा संसद बैठक सञ्चालनको मार्ग अवरुद्ध भएको छ । यो गतिरोध कहिलेसम्म लम्बिन्छ भन्नेबारे कुनै स्पष्टता छैन ।
यता सरकारको नेतृत्व गरिरहेको सत्तारूढ कांग्रेस र प्रमुख विपक्षी माओवादी केन्द्रबीच बढ्दो दूरीले राजनीतिक संवादको गतिशीलतामा समेत असर पार्न थालेको देखिन्छ । संसद अवरुद्ध हुँदा बजेट सत्रको कामकारवाहीसमेत प्रभावित भइरहेको छ ।
अब संसद् सुचारु गर्न सम्भावित विकल्प खोज्न उच्चस्तरीय राजनीतिक संवाद आवश्यक देखिन्छ । तर, माओवादी केन्द्रको अडान नरम नभएसम्म त्यसको छाँटकाँट देखिएको छैन ।























