काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक डाक्ने तयारीबीच राजनीतिक सहमति जुट्न नसकेपछि प्रमुख प्रतिपक्षी दलसहितका प्रमुख सचेतकहरू सभामुखको कार्यकक्षबाट बाहिरिएका छन् ।
संसद् बैठक अवरुद्ध रहँदै आएको छ भने दलहरूबीच जारी संवादबाट कुनै ठोस सहमति नजुटेपछि अब बैठक कहिले बस्ने भन्ने अन्योल थपिएको छ ।
मंगलबार प्रमुख दलका प्रमुख सचेतकहरूबीच छलफलका लागि सभामुख देवराज घिमिरेको कार्यकक्षमा भेटवार्ता भएको थियो । तर, विवादास्पद मुद्दाहरूमा साझा धारणा बन्न नसक्दा बैठकको मार्गप्रशस्त गर्ने सम्भावना न्यून देखिएको छ ।
स्रोतका अनुसार संसद् सञ्चालनसम्बन्धी विषयमा सत्तापक्ष र विपक्षी दलहरूबीच गहिरो मतभेद कायमै छ ।
प्रमुख सत्तारूढ कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा संलग्न भएको भन्दै विपक्षीले संसद् अवरुद्ध गर्दै आएका छन् । उसले गृहमन्त्रीले अनुसन्धानका लागि मार्ग प्रशस्त नगरेसम्म सदन चल्न नदिने अडान कायमै राखेको छ ।
संसद् बैठक नियमित सञ्चालन हुन नसक्दा बजेटसहितका महत्वपूर्ण विधेयकहरूमा ढिलाइ हुने खतरा बढेको छ । तर, दलहरूबीचको संवाद जारी रहेकाले सहमतिको ढोका भने बन्द भएको छैन ।























