images
images
  • वाईसीएलको नयाँ नेतृत्वमा ५ जना दावेदार, प्रचण्डको निर्देशनमा सहमति नभए निर्वाचन हुने

    काठमाडौं । तेस्रो राष्ट्रिय सम्मेलनमार्फत नयाँ नेतृत्व चयनको तयारीमा रहेको योङ कम्युनिस्ट लिग (वाईसीएल)मा अध्यक्ष पदका आकाङ्क्षी धेरै भएपछि सर्वसम्मति कायम गर्न नेतृत्व तहले कसरत गरिरहेको छ ।

    जेठ १८ गतेदेखि प्रज्ञा भवन, कमलादीमा सुरु भएको सम्मेलनले मंगलबार राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गरिसकेको छ भने नयाँ नेतृत्व चयन प्रक्रियामा ढिलाइ भइरहेको छ ।

    वाईसीएलका नेताका अनुसार नेतृत्व चयन बुधबार बिहानबाट हुने भनिए पनि अध्यक्ष पदका आकाङ्क्षी संख्या धेरै भएपछि सहमतिको प्रयासमा समय लागेको हो ।

    हालसम्म शक्ति बस्नेत वाईसीएलसँग समन्वय गर्ने पार्टी संयोजक हुन् । इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ सहमतिको आधारमा नेतृत्व चयनको सम्भावना खोजिरहेका छन् ।

    वाईसीएल नेताहरूका अनुसार शक्ति बस्नेत र दीपशिखाले सर्वसम्मत नेतृत्वका लागि निरन्तर छलफल गरिरहेका छन् । तर, अध्यक्ष पदका आकाङ्क्षीहरू आ–आफ्ना अडानमा कायम रहेकाले सहमति जुट्न सकेको छैन ।

    यता निर्वाचन समिति भने प्रतिनिधिहरू प्रमाणित गर्ने कार्यमा व्यस्त छ । सहमति हुन नसकेमा चुनाव प्रक्रियामा जाने तयारी पनि गरिइएको छ ।

    १२ जनाले अध्यक्ष पदका लागि दाबी गरे पनि पुष्प ओली, केहरसिंह कुँवर, डम्बर पुलामी, गणेश शाही ‘विद्रोही’ र माधव बस्नेतलाई मुख्य प्रतिस्पर्धी मानिएको छ । अन्य आकाङ्क्षीहरूमा ठाकुर सौराग, नवराज एैर, शिव बोगटी, प्रेम श्रेष्ठलगायत छन् ।

    दावेदारमध्ये एक केहरसिंह कुँवरले पनि सहमतिको प्रयास जारी रहेको जनाउँदै नेतृत्व टुङ्गो नलागेको बताए । ‘प्रतिनिधिहरूको टुङ्गो लगाउन बाँकी छ, त्यसैले ढिलाइ भएको हो,’ उनले भने ।

    वाईसीएलको महासचिव पदमा पनि धेरै आकाङ्क्षी देखिएका छन् । शोभराम भण्डारी, सन्तोष पनेरु, धनकुमार मैनाली, मुकेश थापा, हरि ढकाल, र विपिन आचार्य उक्त पदका प्रमुख दावेदार हुन् । वाईसीएलमा ३५ पदाधिकारी हुने तय भए पनि ९९ जना आकाङ्क्षी रहेका छन् । यस्तो अवस्थामा नेतृत्व चयन सहज छैन ।

    सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व चयनको विषयमा संयोजक बस्नेत, इन्चार्ज दीपशिखालगायतसँग छलफल गरेका छन् ।

    उनले सकेसम्म सहमतिबाट नेतृत्व चयन गर्न सुझाव दिएका छन् । सहमति नजुटे निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गरिए पनि बन्द सत्रको हलमै प्रक्रिया टुङ्ग्याउनुपर्ने निर्देशन प्रचण्डले दिएका छन् ।

    वाईसीएलको नयाँ नेतृत्व चयन प्रक्रियाले सांगठनिक भविष्य र पार्टीभित्रको शक्ति सन्तुलनसमेत निर्धारण गर्ने भएकाले यो प्रक्रिया राजनीतिक रूपमा पनि चासोको विषय बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images