images
images
  • जापानमा जन्मदर निरन्तर कमी, गत वर्ष सात लाखभन्दा कम शिशुको जन्म

    काठमाडौं । जापानमा गत वर्ष पहिलो पटक सात लाखभन्दा कम शिशुले जन्म लिएको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।

    जापानले सन् २०२४ मा छ लाख ८६ हजार ६१ नवजात शिशुलाई स्वागत गरेको छ । योसन् २०२३ को तुलनामा ४१ हजार २२७ ले कम हो । यो सङ्ख्या सन् १८९९ मा रेकर्ड सुरु भएयताकै सबैभन्दा कम जन्मदर हो ।

    विश्व बैङ्कका अनुसार कुल जनसङ्ख्याको आधारमा औसतमा हेर्दा विश्वको सबैभन्दा धेरैे वृद्ध व्यक्तिहरूको जनसङ्ख्या भएको देश मोनाको हो भने दोस्रो स्थानमा जापान रहेको छ ।

    प्रधानमन्त्री शिगेरु इशिबाले स्थितिलाई ‘शान्त आपतकालीन अवस्था’ को संज्ञा दिँदै यस प्रवृत्तिलाई उल्टाउन प्रयास गर्न थप लचिलो कार्य घण्टाजस्ता परिवार–अनुकूल उपायहरूको प्रतिज्ञा गरेका छन् ।

    जापानको स्वास्थ्य मन्त्रालयको बुधबारको तथ्याङ्कअनुसार जापानको कुल प्रजनन दर (एक महिलाले बच्चा जन्माउने औसत सङ्ख्या) पनि १.१५ मा झरेको छ । जापानमा सन् २०२४ मा १६ लाख मानिसको मृत्यु भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १.९ प्रतिशतले बढी हो ।

    जनसङ्ख्याका शिसाबले खुम्चिँदै गएका गाउँहरूमा वृद्धहरू झन्–झन् एक्लो हुँदै गएपछि प्रधानमन्त्री इशिबाले ग्रामीण क्षेत्रहरूको पुनरुत्थानको लागि आह्वान गरेका छन् । जापानको आन्तरिक मामिला मन्त्रालयका अनुसार जापानमा २० हजारभन्दा बढी समुदायका अधिकांश बासिन्दा ६५ वर्ष वा सोभन्दा माथिका छन् ।

    भण्डै १२ करोड ३० लाख जनसङ्ख्या भएको यो देशले वृद्ध उमेर भएका व्यक्तिको जनसङ्ख्या बढ्दै जाँदा कामदारको चरम अभावको सामना गरिरहेको छ । सरकारले यस समस्यालाई समाधान गर्न अपनाएको अपेक्षाकृत कडा अध्यागमन नियमले वृद्ध जनसङ्ख्यालाई सहयोगका लागि आवश्यक राहत दिन सकेको छैन ।

    छिमेकी मुलुक दक्षिण कोरियामा सन् २०२४ मा प्रजनन दर जापानको तुलनामा अझै कम अर्थात् ०.७५ प्रतिशत रहेको छ । यो विश्वकै सबैभन्दा कम मध्येको एक हो तर विवाहमा भएको वृद्धिका कारण अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा जन्मदरमा सामान्य वृद्धि भएको छ । –रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images