images
images
  • यी हुन् अंगरक्षक नपाउने राजावादी आन्दोलनका सक्रिय नेताहरू (नामावलीसहित)

    काठमाडौं । राजावादी नेताहरू आन्दोलनमा सक्रिय रहँदासम्म उनीहरूलाई अंगरक्षक (पीएसओ) नदिइने भएको छ ।

    राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापनाको माग गर्दै आन्दोलनमा उत्रिएका राजावादी नेताहरूका लागि सरकारले तोकेको सुरक्षाकर्मी फिर्ता गरेको हो ।

    बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राप्रपाका सांसद बुद्धिमान तामाङले गृहमन्त्री रमेश लेखकसँग अंगरक्षक फिर्ता लिने निर्णयको कारणबारे जिज्ञासा राखेका थिए ।

    जवाफमा गृहमन्त्री लेखकले राजावादी आन्दोलन जारी रहेको बेला उनीहरूको व्यक्तिगत सुरक्षाका लागि तोकिएका सुरक्षाकर्मी अन्यत्र खटाइएको स्पष्ट पारे ।

    ‘तपाईंहरूले सञ्चालन गरेको आन्दोलनमा बढी सुरक्षा आवश्यक भएकाले ती सुरक्षाकर्मीलाई तत्कालका लागि त्यता खटाइएको हो । आन्दोलन सकिएपछि पीएसओ पुनः प्रदान गरिनेछ,’ मन्त्री लेखकले भने ।

    राप्रपाका नेताहरू ध्रुवबहादुर प्रधान, दीपक सिंह र ज्ञानबहादुर शाहीका अंगरक्षक केही दिनअघि फिर्ता बोलाइएको र हालसम्म पुनः खटाइएको छैन । त्यसबेला प्रहरी प्रधान कार्यालयका अधिकारीहरूले राजावादी आन्दोलनको समन्वयका लागि पीएसओहरूलाई बोलाइएको जानकारी दिएका थिए ।

    गृहमन्त्री लेखकले गणतन्त्र, संघीयता र लोकतन्त्रबाट पछि फर्कन नसकिने उल्लेख गर्दै संविधानको मौलिक संरचना उल्ट्याउने प्रयास अस्वीकार्य हुने स्पष्ट पारे ।

    ‘गणतन्त्र, संघीयता, लोकतन्त्र र समावेशिताबाट पछि फर्किन खोज्नु देशलाई फेरि अन्धकारतर्फ धकेल्ने काम हो । संविधानको मूलभूत मर्मविपरीत जाने प्रयासमा कोही नलागून्,’ मन्त्री लेखकले भने, ‘गणतन्त्र वा संविधान फाल्ने भन्ने कुरा सम्भव छैन, यस्ता प्रयासहरू व्यर्थ छन ।’ उनले सम्बद्ध सबै पक्षलाई संविधानको रक्षा र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images