काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा सुरु भएको आन्दोलन नयाँ चरणमा प्रवेश गरेको छ । आन्दोलनलाई थप प्रभावकारी बनाउने रणनीति तय गर्न राजावादी घटकहरू आज निर्णायक बैठकमा बस्न लागेका छन् ।
गत चैत १५ गतेदेखि सुरु भएको यो आन्दोलन हाल एक साता पूरा गरिसकेको छ । पहिलो सातामा उल्लेखनीय जनसहभागिता देखिएको दाबी संयुक्त जनआन्दोलन समितिले गरेको छ । तर, सरकारले काठमाडौंका तीन स्थान बाहेक अन्यत्र निषेधाज्ञा जारी गरेपछि आन्दोलनलाई अगाडि बढाउने रणनीति स्पष्ट नहुँदा नयाँ चरणको योजना बनाउने उद्देश्यले आजको बैठक तय गरिएको हो ।
संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालका अनुसार अहिलेसम्म शान्तिपूर्ण ढंगले सञ्चालन गरिएको आन्दोलन अबको चरणमा फरक ढंगले अगाडि बढ्नेछ । ‘हामीले अहिलेसम्म भद्र, मर्यादित र संवैधानिक दायराभित्र आन्दोलन ग¥यौं,’ उनले भने, ‘तर सरकारको रवैया अधिनायकवादी देखिएपछि आन्दोलनको स्वरूपबारे पुनर्विचार गर्नुपरेको छ ।’
सरकारले राजधानीका तीन स्थानमा मात्र प्रदर्शन गर्न दिने निर्णयलाई अस्वीकार्य भन्दै उनले भने, ‘सरकारको तोकिएको ठाउँमा मात्र आन्दोलन सीमित हुने छैन । यस्तो प्रकारको निषेधाज्ञा हामी मान्दैनौं ।’
आज दिउँसो २ बजे धुम्बाराहीस्थित नवदुर्गा पार्टी प्यालेसमा बस्ने बैठकमा ४४ वटा राजावादी घटक सहभागी हुने जनाइएको छ ।
आन्दोलनको भावी रणनीति, कार्यक्रमको स्वरूप र सहभागी दलहरूबीचको समन्वयबारे बैठकमा छलफल हुने बताइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्दोलनबाट बाहिरिएको भन्ने प्रचार असत्य भएको समितिका प्रवक्ता नेपालले स्पष्ट पारेका छन् । ‘म आफैंले नभनेका कुरा सञ्चारमाध्यममा लेखिए,’ उनले भने, ‘राप्रपा आन्दोलनको अग्रपंक्तिमा छ र आजको बैठकमा पनि उपस्थित हुनेछ ।’
यसैबीच, राप्रपाले पनि एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा आफ्नो सक्रियता कायम रहेको र केही सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार सम्प्रेषण भएकोप्रति गम्भीर आपत्ति जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘राप्रपा जारी आन्दोलनलाई निष्कर्षमा पु¥याउन पूर्ण प्रतिबद्ध छ र अग्रपंक्तिमा रहनेछ ।’
राप्रपाले आफ्ना नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जाल तथा सार्वजनिक मञ्चमा फैलिएका भ्रमहरूको खण्डन गर्न आह्वान गरेको छ । प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनर्गल भ्रम फैलाउने काममा पार्टीका कुनै पनि तहका नेता कार्यकर्ता संलग्न देखिएमा उनीहरू अनुशासन कारबाहीको भागीदार बन्नेछन् ।’
आजको बैठकबाट आन्दोलनको दोस्रो चरणको कार्यदिशा, कार्यक्रम तथा सम्भावित दबाबमूलक रणनीति सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।























