images
images
  • कांग्रेसका विद्यार्थीले गरे त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड, गृहमन्त्रीको दबाबमा परेन उजुरी

    काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)का कार्यवहाक उपकुलपति प्राडा खड्ग केसीको कार्यकक्षमा भएको तोडफोड प्रकरणमा प्रहरीले अझै किटानी जाहेरी नआएको भन्दै अनुसन्धान अघि बढाउन कठिन भएको जनाएको छ ।

    गत १४ गते जेठमा नेविसंघ निकट विद्यार्थी नेताहरूले स्नातक पहिलो वर्षको भर्ना प्रक्रिया तत्काल सुरु गर्न माग गर्दै त्रिविको केन्द्रीय कार्यालय, कीर्तिपुरस्थित उपकुलपति कार्यकक्षमा धर्ना दिएका थिए । उपकुलपति कार्यकक्षमा केसी अनुपस्थित रहेको अवस्थामा तोडफोड भएको थियो ।

    त्रिविले घटनाको प्रारम्भिक विवरणसहित प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दियो । तर, प्रहरीका अनुसार घटनाबारे अनुसन्धान गर्न कानुनी प्रक्रिया पूरा गर्न किटानी जाहेरी अपरिहार्य हुने भएकाले त्रिविलाई औपचारिक जाहेरी दिन पत्राचार गरिएको छ ।

    ‘किटानी जाहेरी बिना कारबाही प्रक्रिया अघि बढाउन सकिँदैन,’ प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजबाबु महर्जनले बताए । ‘हामीले त्रिविलाई औपचारिक रूपमा किटानी जाहेरी दिन पत्र लेखेर पठाएका छौं ।’

    हाल प्रहरीले घटनास्थलको सीसीटीभी फुटेजको अध्ययन गरी संलग्नको पहिचान प्रयास जारी राखेको जनाएको छ । उक्त घटनापछि उपकुलपति केसी कार्यकक्षमा फर्केका छैनन् । ‘त्यो दिनदेखि भीसीसर आउनु भएको छैन,’ एक कर्मचारीले जानकारी दिए, ‘विद्यार्थी नेताबाट धम्की आउने क्रम नरोकिएकाले उहाँ कार्यकक्षमा आउन सक्नु भएको छैन ।’

    विश्वविद्यालय प्रशासनले भने यसपटक घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ । त्रिविको कार्यकारी परिषद्ले नै विश्वविद्यालयको सम्पत्तिमा क्षति पु¥याउनेहरूलाई कानुनी कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ ।

    विद्यार्थी नेताहरू भने स्नातक तहको भर्ना प्रक्रिया अन्योलमा परेपछि दबाब दिन कार्यालय पुगेको दाबी गर्छन् । तर, विश्वविद्यालय प्रशासनले यस्तो किसिमको आन्दोलनलाई सह्य नहुने भन्दै कानुनी प्रक्रियाबाट दोषीको पहिचान गरी कारबाही अघि बढाइने स्पष्ट पारेको छ ।

    स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकको दबाबमा उपकुलपति कार्यालय पक्षबाट कुनै उजुरी दर्ता भएको छैन । यस्तो अवस्थामा दाषीमाथि कारबाही असम्भव हुने प्रहरी बताउँछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images