images
images
  • सहकारी ठगी प्रकरण : रविलाई रूपन्देहीबाट सुविधा सम्पन्न डिल्लीबजार कारागार ल्याइँदै

    रुपन्देही– सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देहीबाट काठमाडौंस्थित डिल्लीबजार कारागार सार्ने प्रक्रिया सुरु भएको छ ।

    जिल्ला कारागार कार्यालय रूपन्देहीले लामिछानेलाई डिल्लीबजार पठाउन कारागार व्यवस्थापन विभागमा अदालतको आदेशसहित पत्राचार गरिसकेको जनाएको छ ।

    कारागार कार्यालय रूपन्देहीका जेलर सुरेश भण्डारीका अनुसार अदालतको आदेशसहित लामिछानेलाई राजधानीस्थित कारागारमा सार्न अनुरोध गरिएको हो ।

    ‘हामीले यहाँबाट अदालतको आदेशसहित अनुरोध गरी पठाउने हो । आदेशसहितको पत्र पठाइसकेका छौं,’ जेलर भण्डारीले जानकारी दिए । तर, कारागार व्यवस्थापन विभागबाट भने अहिलेसम्म आधिकारिक निर्णय नभएको उनको भनाइ छ ।

    कारागार व्यवस्थापन विभागकी निर्देशक एवं प्रवक्ता कल्पना घिमिरेले आफूलाई यसबारे जानकारी नभएको प्रतिक्रिया दिइन् ।

    रास्वपा सभापति लामिछानेलाई चैत २२ गते उच्च अदालत बुटवल इजलासले सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

    उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएपनि सर्वोच्चले उच्च अदालतकै आदेश सदर गर्दै लामिछानेलाई थुनामा राख्न सकिने निर्णय गरेको थियो ।

    लामिछाने हाल जिल्ला कारागार रूपन्देहीमा थुनामा छन् । उनलाई काठमाडौंस्थित डिल्लीबजार कारागारमा सार्ने प्रयासमा सुरक्षाजन्य तथा प्रशासनिक समन्वय भइरहेको स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार लामिछानेलाई डिल्लीबजार सार्ने मागमा राजधानीमा बहस चलिरहेको सहकारी प्रकरणसँग सम्बन्धित अन्य मुद्दाहरू तथा अनुसन्धानलाई समेत सहजीकरण गर्न सकिने आधार प्रस्तुत गरिएको छ ।

    यद्यपि, उनको सार्ने प्रक्रिया कहिले पूरा हुनेछ भन्ने विषयमा हालसम्म निश्चित टुंगो लाग्न सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images