images
images
  • नागरिकमुखी राजनीतिविना झोले, ब्यागे वा सुटकेसले अर्थ राख्दैनन् : अध्यक्ष रञ्जु दर्शना

    काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष रञ्जु दर्शनाले नेपाली राजनीतिमा नागरिक केन्द्रित सोच नआएसम्म झोला, ब्याग वा सुटकेस बोकेका नेताहरूले खासै परिवर्तन गर्न नसक्ने टिप्पणी गरेकी छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘झोले भए पनि, ब्यागे भए पनि, सुटकेसे भए पनि जबसम्म राजनीति नागरिक केन्द्रित हुँदैन, केही फरक पर्दैन ।’

    प्रधानमन्त्री तथा सत्तारूढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा आयोजित एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा आफू जनताको झोले भएको बताएका थिए । त्यसयता सामाजिक सञ्जालमा एमालेले ‘म झोले हो’ अंकित ओलीको तस्बिरसहितको पोष्टर ट्रेन्डिङमा ल्याएका छन् ।

    प्रधानमन्त्री ओली र एमाले नेता–कार्यकर्तालाई अध्यक्ष रञ्जुले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेको हुनसक्ने राजनीतिक एवं वामविश्लेषक श्याम श्रेष्ठ बताउँछन् ।

    त्यस्तै उनले वर्तमान शीर्ष दलहरूप्रति पनि चर्को आलोचना गरेकी छन् । कम्युनिष्टहरू ‘कमाउनिष्ट’मा रूपान्तरित भएकै कारण जनगुनासोको शिकार भएको उनको धारणा छ । नेपाली कांग्रेसले भने समाजवादको नाममा परिवारवाद अँगालेको उनले आरोप लगाएकी छन् ।

    आफ्नै पार्टीप्रति पनि आत्मालोचना गर्दै रञ्जुले विवेकशील साझा पार्टी भित्रका विघटन र टकरावहरू विवेक नभई आवेगमा आधारित रहेको स्वीकार गरेकी छन् । ‘विवेक नभई आवेगमा आधारित निर्णयहरूका कारण हामी गालीको पात्र बन्यौँ,’ उनले उल्लेख गरेकी छन् ।

    जनताको सहनशीलता र फेरि मौका दिने प्रवृत्तिलाई सकारात्मक रूपमा लिन आग्रह गरेकी छन् । ‘नेपाली जनताले सधैं सच्चिनको अवसर दिन्छन् । त्यो अवसरलाई परिवर्तनको माध्यम बनाइएन भने जुनी–जुनीसम्म अवस्था उस्तै रहन्छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images