images
images
  • गृहमन्त्रीको दैनिक ५० लाख असुली धन्दाले विपक्षी आक्रोशित, संसद्‌मा मुठभेटको सम्भावना

    काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आह्वान गरिएको छ ।

    बैठक आज (मंगलबार जेठ २०) नयाँ बानेश्वरस्थित संघीय संसद्को भवनमा बस्ने संघीय संसद्को सचिवालयले जनाएको छ ।

    उक्त सचिवालयका अनुसार आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

    त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ ।

    राष्ट्रिय सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै ‘प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्तावसमेत सभामा प्रस्तुत हुनेछ ।

    यद्यपि भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले संसद्को गतिरोध कायम राख्ने निर्णय गरेका छन् । भिजिट भिसा (दैनिक ५० लाख असुली धन्दा) को नाममा मानव तस्करी र अनियमिततासम्बन्धी घटनामा बहालवाला गृहमन्त्री संलग्न भएको भन्दै विपक्षीले संसद् चल्न दिएका छैनन् । तर, गृहमन्त्री रमेश लेखकको हालसम्म उपलब्ध सूचनाहरूका आधारमा भिजिट भिसा प्रकरणमा प्रत्यक्ष संलग्नता पुष्टि भएको छैन ।

    यहीँ मुद्दालाई लिएर विपक्षी दलका सांसदहरूले संसद् अवरुद्ध गर्नुका साथै गृहमन्त्रीले अनुसन्धानलाई सघाउन मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । उनले भने हालसम्म आफू कुनै घटनामा संलग्न नभएको स्पष्ट पार्दै आएका छन् । तर, विपक्षीले संसद् अवरुद्ध पार्ने भएपछि सत्तापक्षी सांसदहरू आक्रोशित बनेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images